शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कार्यविधि भन्छः क्वारेन्टिनमा २४ घन्टा एम्बुलेन्स सञ्चालन सुविधा हुनुपर्छ, मन्त्रालय भन्छः सबै ठाउँमा यो व्यवहारिक हुँदैन

कार्यविधि भन्छः क्वारेन्टिनमा २४ घन्टा एम्बुलेन्स सञ्चालन सुविधा हुनुपर्छ, मन्त्रालय भन्छः सबै ठाउँमा यो व्यवहारिक हुँदैन

  • सोमवार, जेष्ठ ५, २०७७
कार्यविधि भन्छः क्वारेन्टिनमा २४ घन्टा एम्बुलेन्स सञ्चालन सुविधा हुनुपर्छ, मन्त्रालय भन्छः सबै ठाउँमा यो व्यवहारिक हुँदैन

कोरोना भाइरसबाट मृत्यु भएका बाँके, नरैनापुर गाउँपालिका-५ नयाँ बस्तीका २५ वर्षीय युवकलाई समयमै अस्पताल पुर्‍याउन सकेको भए स्थिति अर्कै हुन सक्थ्यो।

आइतबार बिहान चार बजेतिर एक्कासि बान्ता गरेका उनलाई अस्पताल लैजान साढे ६ बजे बल्ल एम्बुलेन्स आइपुग्यो। तर एम्बुलेन्स नआइपुग्दै क्वारेन्टिनमा उनको प्राण गयो।

सरकारले क्वारेन्टिन सञ्चालन व्यवस्थित गर्न कार्यविधि बनाएको छ। कार्यविधिअनुसार क्वारेन्टिनमा चौबिसै घन्टा एम्बुलेन्स सञ्चालन सुविधा हुनुपर्छ भनिएको छ। तर मृतक युवक तीन घन्टासम्म छटपटी रहँदासम्म पनि उद्दार गर्न नसकिएको देखिएको छ।

नरैनापुर गाउँपालिकाका प्रशासकीय अधिकृत मणिराम खरालले पनि छिटो उद्दार गर्न सकिएको भए स्थिति अर्कै हुनसक्ने संकेत गरे।

‘गाउँपालिकासँग एउटा एम्बुलेन्स छ। त्यो पनि गर्भवती महिलालाई अस्पताल पुर्‍याउन गएको थियो। त्यही एम्बुलेन्स लानुपर्दा ढिला भएको हो,’ उनले भने। युवकलाई त्यहाँबाट भेरी अस्पताल लैजाने तयारी गरिएको थियो। क्वारेन्टिन स्थानबाट अस्पताल मात्र एक घन्टाको बाटो छ। त्यसैले योबीचमा एम्बुलेन्स पुर्‍याउन सकिएको भए स्थिति फरक हुनसक्थ्यो कि भन्ने हो।

क्वारेन्टिनमा खटिएका एक स्वास्थ्यकर्मीले युवकले बान्ता गर्न सुरू गरेलगत्तै सम्बन्धित निकायलाई खबर गरिएको भए पनि कसैले चासो नदिएको बताए। ती स्वास्थ्यकर्मी भन्छन्, ‘हामीले खबर गर्‍यौं, तर कसैले चासो देखाउनुभएन। बिहान ६ बजे उहाँको मृत्यु भयो।’

स्वास्थ्य मन्त्रालयले भने समयमै एम्बुलेन्स सुविधा पुर्‍याउन नसकेको कुराको बचाउ गरेको छ। ‘युवकको मृत्युको कारण यातायात मात्र हैन। उहाँमा एक्कासि समस्या देखिएकाले अस्पताल लानै नपाएको हो,’ मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले सेतोपाटीसँग भने।

उनले युवकलाई अस्पताल लैजान एम्बुलेन्सलाई नै ढिला खबर आएको कुरा मन्त्रालयमा रिपोर्टिङ भएको बताए। ‘उहाँहरूले एम्बुलेन्सलाई ढिला खबर गर्नुभयो भन्ने छ। पछि एम्बुलेन्स जाँदाजाँदै युवकको मृत्यु भयो,’ उनले भने।

उनले कार्यविधिमा क्वारेन्टिनमा चौबिसै घन्टा एम्बुलेन्स सञ्चालन सुविधा हुनुपर्ने उल्लेख भए पनि सबै ठाउँमा यो व्यवहारिक नहुने बताए। उनी भन्छन्, ‘कुनै ठाउँमा दुई-तीन वटा क्वारेन्टाइनलाई एउटै एम्बुलेन्स व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसैले सबै ठाउँ व्यवहारिक हुन्न।’

कोरोनाबाट मृत्यु भएका बाँकेका युवक गत वैशाख ३० गते भारतको मुम्बईबाट आएका थिए। गाउँपालिका प्रवेश गर्नेबित्तिकै उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।

आइतबार बिहान उनले एक्कासि दुईपटक बान्ता गरेका थिए। त्यसपछि उनलाई अस्पताल लैजाने तयारी गर्दागर्दै साढे ६ बजे उनको मृत्यु भयो। पछि पिसिआर टेस्ट गर्दा उनमा कोरोना संक्रमण रहेको पुष्टि भयो। योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। शनिबार नै स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोककी २९ वर्षीया गर्भवती महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको थियो।सेताेपाटी बाट 

चर्चामा

सम्बन्धित समाचार