शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • क्वारेन्टाइनमा बसेको १८ औं दिनमा घरको बास, भोलिपल्टै खबरआयो – कोरोना पोजेटिभ

क्वारेन्टाइनमा बसेको १८ औं दिनमा घरको बास, भोलिपल्टै खबरआयो – कोरोना पोजेटिभ

  • सोमवार, बैशाख २९, २०७७
क्वारेन्टाइनमा बसेको १८ औं दिनमा घरको बास, भोलिपल्टै खबरआयो  – कोरोना पोजेटिभ

क्वारेन्टाइनमा बसेको १८ दिन पुगिसकेको थियो। परीक्षणका लागि लगिएको थ्रोड स्वाबको रिपोर्ट नआइ घर जाने कुरा थिएन। आइतवार रिपोर्ट पनि आयो – सबैको नेगेटिभ। रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर जाने बाटो खुल्यो।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का उनी पनि घर पुगे, कोरोनामुक्त भन्दै। लामो समय घरबाहिर रहेका उनी हिँडेरै पुगे पनि घर जान पाइहालेका थिएनन्। एक रात घरमा बसेका के थिए – भोलिपल्टै खबर आयो – कोरोना पोजेटिभ भन्ने।

सप्तरीमा आज दिउँसो कोरोना भाइरस संक्रमित भएको पुष्टि हुँदा ती किशोर १८ दिन क्वारेन्टाइनमा बसिसकेका थिए। त्यहाँबाट मुक्त भएर घर पुग्दा फेरि कोरोना भएको जानकारी आयो। आइतवार रातीमात्र घर फर्किएका उनी १९ दिनअघि हिँडेर नै चितवनबाट सप्तरी पुगेका थिए।

१२ जनाको समूहमा उनीहरु चितवनबाट सप्तरी पुगेपछि क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा आरडीटी परीक्षण गर्दा उनीहरुमा नेगेटिभ देखिएको थियो। तर, फेरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआरमा कोभिड-१९ पोजेटिभ भेटियो।

पीसीआरको अन्तिम रिपोर्ट नआउँदै उनी आइतवार राति घर फर्किएका थिए।

‘हिजो राती ८ बजे क्वारेन्टाइनबाट घर फर्केँको रहेछ। तर, आज पोजेटिभ आयो,’ डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का सदस्य सजाद हुसेनले भने।

संक्रमित देखिएका किशोर वडा नम्बर ३ कै हुन्। उनीहरु चितवनमा काम गर्दै आएको र लकडाउनपछि घर फर्किएको बताएका छन्।

‘जिल्ला जनस्वास्थ्य कार्यालयले पीसीआर नेगेटिभ आएको भनेपछि घर पठाएका थियौं। तर, अहिले फेरि पोजेटिभ आएको जानकारी आएपछि फेरि घरमा नै लिन पठाएका छौं,’ डाक्नेश्वरी नगरपालिका मेयर शिवनारायण साहले भने।

उनको थ्रोट स्वाब यही २५ गते लिइएको थियो। आज कोरोना पोजेटिभ देखिएपछि प्रहरी र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स उनलाई लिन घर पुगेको छ। अब कन्ट्याक्ट ट्रेसिङ गर्दै परिवारका अन्यको पनि स्वाब परीक्षण गर्नुपर्ने भएको छ।

चर्चामा

सम्बन्धित समाचार