
जनकपुरधाम । घरमा बिहेको सम्पूर्ण तयारी भएको बेला पक्राउ गरियो भने कस्तो अवस्था हुन्छ होला ? धनुषामा यस्तै भएको छ । सुटुक्क बिहे गर्न लागेका एक जोडी अहिले क्वारेन्टाइनमा छन् । धनुषाको शहिदनगर नगरपालिका ५ पछेर्वा मुसहरी टोलका युवा युवतीले पञ्चको निर्णय अनुसार बिहे गराउन लाग्दा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राखिएको हो ।
करिब महिना दिनअघि भागेर भारत पुगेको दुवैजना तीन दिनअघि मात्रै घर फर्किएको थिए । घर फर्किएका दुवैजनालाई बिहीबार बिहान गाउँका पञ्चहरुको भेलाले दण्ड जरिवानासहित विवाह गराउन लाग्दा पक्राउ गरिएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले जानकारी दिए ।
‘महिना दिनअघि दुवै भागेर छिमेकी मुलुक भारत पुगेका थिए । फेरी उताबाट भागेर नेपाल आइपुगेको दुई दिन भएको थियो, पञ्चहरुले दण्ड जरिवानासहित बिहे गराउन लाग्दा प्रहरीको सहयोगमा पक्राउ गरेर क्वारेन्टाइनमा राखेका छौं ।’ मेयर यादबले भने ।
पक्राउ परेका युवायुवती दुवै मुसहर समुदायका हुन् । पञ्चहरुले समाजिक नियम उल्लंघन गरेर भागेको आरोपमा केटा पक्षलाई डेढ लाख र केटी पक्षलाई १ लाख जरिवाना गरी विवाह गराउन लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । अभिभावकको सहमती बेगर विहे गर्दा पञ्चहरुले जरिवान तिराउने कार्य पटक पटक हुने गरेको छ ।
घटनाको सन्दर्भमा इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक दिपकबाबु केसीले भारतबाट फर्किएर आएका दुवैलाई कोरोना संक्रमणको शंकास्पद अवस्थामा क्वारेन्टाइन पठाइएको जानकारी दिए । उनले भने, ‘विवाहको पछिल्लो चरणको कुरा हो, उमेर पुगेको नपुगेको भन्दा पनि क्वारेन्टाइनमा राख्नु कोरोना संक्रमणको निगरानी मात्र हो ।’ याे खबर नयाँ पत्रिकाले लेखेकाे छ ।


