शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • निर्णय सच्याउन देउवा तयार !

निर्णय सच्याउन देउवा तयार !

  • मङ्लबार, पुस २२, २०७६
निर्णय सच्याउन देउवा तयार !

कांग्रेसमा देखिएको विवाद अन्त्यका लागि सभापति शेरबहादुर देउवा तयार रहेका छन् । “नेविसंघमा ४९ र विभागमा ४० प्रतिशत दिन तयार छौं,” डा. महतले मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग भने, “कार्यतालिकामा कहाँनेर परिवर्तन गर्ने हो, त्यो पनि गरौंला । तर पहिले वार्तामा बसौं ।”

केन्द्रीय समितिले गरेको पछिल्लो निर्णय सच्याउन दबाब दिनका लागि संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको काठमाडौंमा भेला भइरहेका बेला देउवा निकटका नेताले यस्तो बताएका हुन् ।

“पार्टीमा अहिले पक्ष–विपक्षको कुरै गर्न हुँदैन । हाम्रो विपक्षमा सरकार मात्रै छ । जुन सरकार जनअधिकार कुण्ठित गर्न लागिपरेको छ । हामी सरकारका यस्ता कदमविरुद्ध लाग्नुपर्ने बेला भएको छ । निर्णय सच्याउनुपर्ने भए वार्तामा बसौं समाधान निस्कन्छ ।”

उनले कार्यतालिकामा कहाँ के परिवर्तन गर्नुपर्ने हो देउवा तयार रहेको बताए ।

“अधिवेशनको मिति तोकिएको छ,” उनले भने, “त्यसको कार्यतालिकामा के कस्ता परिमार्जन गर्न सकिन्छ त्यसमा सभापति खुला हुनुहुन्छ । त्यही सहमति जुटाउनकै लागि उहाँले पटकपटक केन्द्रीय कार्यसमिति बैठक सारेकै हो । अहिले पनि तयार हुनुहुन्छ ।”

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरुले नेतृत्वमा देखिएको बेमेल सहमतिमा परिणत गराउन सक्ने बताए ।

“फरकफरक दिशातर्फ नेतृत्व फर्किएको अवस्था छ भनिरहँदै गर्दा नेतृत्वलाई एउटै थलोमा उभिएर सबै विषयको समाधानमा सहमतिपूर्वक अगाडि जाने अवस्था निर्माण गर्न सभापतिहरुको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरामा म विश्वस्त छु,” प्रवक्ता शर्माले भने ।

उनले पार्टीको महाधिवेशनको कार्यतालिका वरिष्ठ नेताकै अपेक्षा बमोजिम आएको दाबी गर्दै भने, “तर, मंसिर २६ गते बाट सुरु भएको बैठकको एजेण्डा महाधिवेशनको कार्यतालिका थिएन । उपनिर्वाचन अघि बसेको पार्टीको अघिल्लो बैठकले पार्टीको विधानको धारा ७२ को उपधारा ४ बमोजिम समायोजन प्रक्रिया सकेपश्चात बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिकाको विषय एजेण्डाका रुपमा ल्याउने निर्णय सर्वसम्मत गरिएको थियो ।”

“नेताहरुका बीचमा एकता होस्, सहमति होस्, सहमतिपूर्वक कांग्रेस अगाडि बढोस्, पार्टीको झण्डा लत्रेको होइन, पार्टीको झण्डा शानसँग फहरियोस् भन्ने जुन साथीहरुको अपेक्षा छ त्यो अपेक्षालाई पार्टीका सभापति, वरिष्ठ नेताले, पार्टीका सबै नेताले आत्मसात गर्नुहुनेछ,” उनले भने ।

जिल्ला सभापतिहरुले नेतृत्वले गरेको गल्ती सच्याउनुपर्ने र संस्थापनइतर नेताहरु पनि सहमतिमा आउन दबाब दिएको बताएका छन् ।

काठमाडौं जिल्लाका सभापति सबुज बानियाँले जिल्ला सभापतिहरुको भेलामा बहुमतीय आधारमा निर्णय भएका कुराहरुले संस्थागत रुपमा अगाडि बढ्न असहज परिस्थिति सिर्जना गरेकाले त्यसलाई सच्याउन माग गरिएको बताए ।

“जसका कारण अहिलेको परिस्थितिमा पार्टी मजबुद भएर प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्दैन,” उनले भने, “पार्टीको महासमितिले गरेको निर्णयलाई पनि लत्याइयो । महाधिवेशनको कार्यतालिका पनि बहुमतको आधारमा ल्याइयो । भ्रातृ संस्थाहरुलाई भागबण्डा नमिलेर कार्यसमिति विहीन राखियो । पार्टीमा भागबण्डा र बहुमतका आधारमा निर्णय गर्ने परिपाटीको अन्त्य गरिनुपर्छ । सहमतिका आधारमा अगाडि जानुपर्छ र पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउनुपर्छ भन्ने अधिकांश पार्टी सभापतिहरुले धारणा राख्नुभएको छ ।”

कास्कीका सभापति कृष्ण केसीले जिल्ला सभापतिहरुको भेलाले सहमतिकै लागि दबाब दिएको बताए ।

“सभापतिहरु कसैले वान साइडेड भएर बोल्नुभएको छैन । सबैले शेरबहादुर देउवाले गल्ती गरिरहँदा रामचन्द्र पौडेल, शशांक कोइरालाले पनि गल्ती गरिरहनुभएकै हो भन्ने कुरा राख्नुभएको छ,” उनले भने, “विधानका केही धाराहरु निलम्बन गरिएका छन् । ती धाराहरु यति छिट्टै, यसरी बहुमतका आधारमा नगरको भए हुने थियो भन्ने छ ।”

भेलमा रहेका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आगामी महाधिवेशनको सुनिश्चितता कसरी गर्न सकिन्छ भनेर जिल्ला सभापतिहरुसँग परामर्श गरेको बताए ।

“केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल सकिनै लागेको छ,” उनले भने, “एकवर्ष विशेष परिस्थितिमा समय थप गर्न सकिन्छ । तर, अब तीन महिनामात्रै कार्यकाल बाँकी छ । भनेपछि अब कहिलेदेखि कार्यतालिका बनाएर महाधिवेशन उन्मुख हुने भन्ने कुरामा हामीले आप्mना कुराहरु राख्यौं ।”
उनले पुस ११ गते आएको निर्णय एकपक्षीय भएकाले सच्याउनुपर्ने बताए ।

 

चर्चामा

सम्बन्धित समाचार