आइतबार, माघ १२, २०७६
  • होमपेज
  • समाज
  • अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ

अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ

  • साेमबार, पुस १४, २०७६
अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ
डा‍.अरुणा उप्रति

मधुमेह र मुटुको रोग लागेपछि खाना खाँदा विचार गर्नुपर्ने रहेछ भन्ने चेत धेरैमा आएको छ। But अभिभावकहरूले माया गरेर दिने तथा बालबालिका आफैंले किनेर खाने कुरमुरे, सेता पाउरोटी, चाउचाउ मन्द विष हुन्। यस्ता खानाले ठूला–साना सबैलाई अति नै हानि गर्छ। स–साना बालबालिकाका लागि त झनै खराब हुन्छ। किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रोटिन, लौहतत्व, क्याल्सियम आदि हुँदैनन्। त्यसैले यस्ता वस्तु खानाले बालबालिकामा पोषण कमी हुन्छ।

पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक खानेकुरा हुन्। तर हाम्रा अभिभावक आफ्ना बालबालिकालाई फकाउँदै पैसा दिएर त्यही पत्रु खाना किन्न उक्साउँछन्। यसो गर्दा बाबु–आमा पनि मक्ख, छोराछोरी पनि मक्ख। एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन्। बिरामी भएपछि औषधि–उपचार गर्दा समय र धन दुवै खर्च हुन्छ। त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस।

पत्रु खानाले बालबालिकालाई शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेरै स्वास्थ्य मन्त्रालयका साथै शिक्षामन्त्रालयले समेत समय–समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता खाजा स्कुलमा लैजान तथा बिक्री गर्न प्रतिबन्ध लगाउने कोसिस गरेका थिए, तर सफल भएन। अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गर्देनन्। आमा–बुबाले पनि आफ्ना बालबालिकालाई खाजा खान पैसा त दिन्छन्, तर त्यो पैसाले तिनले स्वस्थकर खाजा खाएका छन् कि छैनन्, वास्ता गर्दैनन्।

बालबालिकालाई खाजाका रूपमा दिइने बिस्कुट, पेय पदार्थ आदि दिँदा उनीहरूको शरीरमा चाहिनेभन्दा बढी चिनी जम्मा हुन्छ। चिनी धेरै भएको चिसो पदार्थले मानव शरीरको हड्डी कमजोर पार्ने तथा क्यान्सरसमेत गराउन सक्ने भनेर अध्ययनले देखाएको छ। ठूला बट्टामा राखिएको फलफूलको रस राम्रोे ठानेर बालबालिका धेरै पिउँछन्। यस्तो रसमा धेरै चिनी र फलफूलको रस नकुहियोस् भनेर रसायन हालिएको हुन्छ। यसले स्वास्थ्यमा धेरै नराम्रो असर पार्छ। यसले कुपोषण गराउँछ।

हामीसँग स्वस्थकर पेय पदार्थ पनि पर्याप्त छन्, जस्तै ः कागती र पुदिना हालेको सर्बत, कागती हालेको चिया, दही, लस्सी, बेलको सर्बत, कागती र मह हालेको पानी आदि। यस्तो पेय पदार्थ घरमै सजिलोसँग बनाउन सकिन्छ। पैसा पनि कम पर्छ। अमला, अम्बा, हलुवावेद आदि सस्तो पर्छन् भने यिनमा भिटामिन ‘सी’ पनि पर्याप्त हुन्छ। जसले शरीरमा रोगसँग लड्ने शक्ति त बढाउँछ नै, साथै यस्ता फलफूलमा पानी पनि हुनाले कब्जियत हुन दिँदैन।

अचेल धेरै बालबालिकाले पत्रु खाना खाने हुनाले उनीहरूलाई कब्जियत हुने गरेको पाइन्छ। कब्जियत भएपछि पेट ढुस्स हुने, खाना खान मन नलाग्ने, वाकवाकी आउने, टाउको दुख्ने हुन्छ। साथै दिसा गर्दा कन्नुपर्ने हुँदा बाबसिर हुन सक्छ। यस्तो समस्या भएपछि शल्यक्रिया गर्नुपर्ने हुन्छ। यसले गर्दा झन् धेरै समस्या र रोग थपिन सक्छन्। त्यसैले कब्जियतै हुन नदिन चोकर भएका खानेकुरा जस्तो ः गहुँको आँटा, जौ आदि र रेसादार पदार्थ भएका खाना जस्तो ः हरिया तरकारी, भटमास, बोडी, स्कुस, लौका, मकै आदि खानुपर्छ, बालबालिकालाई दिनुपर्छ। बच्चाहरूले हरिया तरकारी खाँदैनन् भन्ने आमा–बुबालाई म भन्छु– बालबालिकालाई बिस्तारै यस्ता हरिया तरकारीको स्वाद चखाउनुको अर्थ हो, उनीहरूलाई राम्रो संस्कार दिनु।

‘शक्ति बढाउने खाना’ भनेर अनेक किसिमका खानेकुराका बट्टामा लेखिएका हुन्छन्। गाउँघरमा कतिपय अभिभावकले आफ्ना बच्चाको स्वास्थ्य राम्रो होस् भनेर आफ्नै खेतबारीमा उब्जिएका कोदो, फापर, मकै, गहुँ, आलु बेचेर हर्लिक्स, बोनभिटा, बुस्ट, भिभा आदि किन्छन्।
वास्तवमा उनीहरू टिभी र रेडियोमा आएका भ्रामक विज्ञापनको प्रभावमा पर्छन्। हर्लिक्स, बोनभिटा, कम्प्लानले ‘बालबालिकाको बुद्घि र उचाइ बढाउँछ’ भन्ने गलत विज्ञापन दिइएको हुन्छ।

यस्ता वस्तुहरू जौ, गहुँ, चिनी, दूध आदिबाट बनाइएका हुन्छन् र सिसीमा हालेर अति नै महँगो भाउमा बेचिन्छन्। हर्लिक्स बनाउने संस्थाले बेलायतमा यसरी गलत तरिकाले विज्ञापन गर्न पाउँदैन। तर नेपाल र भारतजस्ता देशमा भने हर्लिक्सले जथाभावी विज्ञापन गर्छ। यसले गर्दा मानिसमा भ्रम फैलिन्छ। शक्ति दिने भनेर जुन वस्तुको बढी विज्ञापन गरिन्छ, त्यो वस्तु त्यति नै काम नलाग्ने हुन्छ। पहिले–पहिले चुरोट खाँदा शक्ति बढ्छ भन्ने विज्ञापन आउँथ्यो। तर चुरोटले त शरीरमा हानि मात्र गर्छ। त्यसरी नै चाउचाउ, कुरकुरे, चिजबलले शरीरमा हानि मात्र गर्छन् भनेर बुझ्न जरुरी छ।

चर्चामा

सम्बन्धित समाचार