शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका प्रदेश सांसदको भ्रमण भत्तामा मनपरी

सुदूरपश्चिमका प्रदेश सांसदको भ्रमण भत्तामा मनपरी

  • बिहिबार, भदौ ५, २०७६
सुदूरपश्चिमका प्रदेश सांसदको भ्रमण भत्तामा मनपरी

सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुले सेवासुविधामा मनपरी गर्दै आएको आरोप लागेको छ। प्रदेशसभा सदस्यहरु आफैले बनाएको सेवासुविधा तथा पारिश्रमिक सम्बन्धी ऐनमा भएको व्यवस्था विपरीत मनपरी ढंगले सुविधा लिईरहेको आरोप लागेको हो। सांसदहरुले दैनिक भ्रमण भत्ता वापत पाउने रकममा आफूखुसी गरेको दावी गरिएको छ।

गतवर्ष माघ ४ गत सुदूरपश्चिम सभाको तेस्रो अधिवेशन सुरु हुँदा प्रदेश सभामुख र उपसभामुख सहितका ४५ जना प्रदेशसभा सदस्यहरुले दैनिक भ्रमण भत्ता र गाडी भाडा सुविधा वापत तीन लाख ५० हजार लिएका छन्। प्रदेशसभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बैशाख १३ गते तेस्रो अधिवेशन अन्त्य हुने बेला समेत ४५ जना प्रदेशसभा सदस्यहरुलाई दैनिक भ्रमण भत्ता र गाडी सुविधा वापत भन्दै तीन लाख ५० हजार नै प्रदान गरिएको छ।

पहिलो अधिवेशनको विवरण उपलब्ध नगराईएपनि दोस्रो र चौथो अधिवेशनमा पनि तेस्रो अधिवेशनमा जत्तिकै रकम दिईएको छ। जसमा दोस्रो अधिवेशनको सुरु र अन्त्यमा तीन दिनको भ्रमण भत्ता वापतको रकम पाउनेले हरेक अधिवेशनमा सोही अनुसार लिएको भेटिएको छ भने एक वा दुई दिनको लिने समेत हरेक अधिवेशनमा त्यती नै भत्ता लिएका छन्।

तर प्रदेशसभा सदस्यहरुले भने बढिमा तीन दिनको दैनिक भ्रमण भत्ता दिने व्यवस्था अनुसार नै रकम दिईएको हुनसक्ने बताएका छन्। नेकपाका प्रदेशसभा सदस्य मानबहादुर धामीले पनि मापदण्ड अनुसार नै भ्रमण भत्ता लिएको बताए।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्इवस्था गर्न बनेको विद्येयक २०७५ मा दैनिक भ्रमण भत्ता वापत २५ सयका दरले दिने व्यवस्था गरेको छ भने सभा वा समितिको बैठकमा उपस्थित हुँदाका दिन यातायात सुविधा वापत पाँच सयका दरले दिने उल्लेख छ।

तर प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सचिवालयले हरेक अधिवेशनमा दिन संख्या एउटै राखेर भ्रमण भत्ता दिईरहेको हो। सभामुख अर्जुन बहादुर थापा, उपसभामुख निर्मला जोशी बडाल सहितका १६ जना सांसदहरुले हरेक अधिवेशनको सुरु र अन्तमा तीन–तीन दिनको भ्रमण भत्ता लिएका छन्, प्रदेशसभा सचिवालयका सचिव राम सिह धामीले भने, ६ जनाले दुई –दुई दिन र २३ जना सांसदले एक–एक दिनको भ्रमण भत्ता बुझेका छन्।

तर, कतिपय सांसदहरुले भने धनगढीमै बसेर समेत दैनिक भ्रमण भत्ता वापतको रकम बुझ्दै आएको आरोप लागेको छ। तर प्रदेशसभा सचिवालयले सांसदको हाजिरी र सेवा सुविधा वापत बुझिलिएको पूर्ण विवरण दिन भने अस्वीकार गरेको छ। सूचनाको हक अनुसार दर्ता गरिएको निवेदनमा अधुरै सूचना उपलब्ध गराएको छ।
साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार