बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलाई कालो मोसो

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलाई कालो मोसो

  • आइतवार, चैत्र १०, २०७५
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखलाई कालो मोसो

डोटी, चैत १० । डोटीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अनन्त कुमार पौड्याललाई कालो मोसो दलिएको छ । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले पौड्याललाई कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् । कालोमोसो दलेसँगै नेविसंघका कार्यकर्ताहरुले प्रेस विज्ञप्तीमार्फत पौड्यालमाथि विभिन्न अनियमिताका ९ बुँदे आरोप लगाएका छन् ।

विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजनाहरुमा आफन्तहरुमार्फत पौड्यालले १० प्रतिशत कमिशन खाने गरेको, कमिशन नपाएका योजना सम्पन्न भएपश्चात पनि मूल्यांकन नगर्ने, नगराउने गरेको, विद्यालय व्यवस्थापन समितिको अधिकार मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा ४ महिनासम्मको तलब खाने गरेको र प्रश्न पत्र समेत आउट गर्ने गरेको प्रेस विज्ञप्तिमार्फत आरोप लगाईएको छ ।

 

यसैगरी अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको रकम राजश्वमा जम्मा नगरी अनावश्यक खर्च गरेको, बढुवा हुने शिक्षक संख्या लुकाएको र शिक्षक महासंघले दवाव दिएपछि मात्र सार्वजनिक गरेको, आइतबारदेखि शुरु भएको विद्यालय शिक्षा परीक्षा (एसइइ) का लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता र क्षमताको आधारमा नभइ राजनीतिक कोटाका आधारमा छानेको, कमिशन नमिल्दा करार शिक्षकको परीक्षा नतिजा ४/५ महिनासम्म रोकेको आरोप विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी कमिशन उठाउन कृषि विकास विकास बैंक, गट्ठाघर भक्तपुरमा चन्द्रमाया कोईरालाको नाममा रहेको खाता नं. ०२–१२३–००७५५–१८६–०१९ र राष्ट्रिय वाणिज्य बैंक बानेश्वर काठमाण्डौमा अरुण पौडेलको नाममा रहेको खाता नं. १४२००७०१५१० लगाएतका खाता नंं विद्यालयका प्रअहरुलाई बाँडेको, विदाका दिनमा सरकारी गाडी दुरुपयोग गरेको र शिक्षा क्षेत्रमा समस्या समाधान गर्नुभन्दा राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीलाई दुःख दिने गरेको नेविसंघले आरोप लगाएको छ । विज्ञप्तीमा नेविसंघका पूर्व आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझासहित प्रविण उपाध्याय, प्रकाश ठकुल्ला र रेशमविक्रम खड्काको हरुताक्षर रहेको छ ।

यस विषयमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेवीलाई समेत पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नहुनुले भ्रष्टाचारको जालो चारैतिर फैलिएको कुरा प्रष्ट रहेको उल्लेख छ । आफुमाथि अनावश्यक आरोप लगाईएको र आफ्नो मानहानी गरेको भन्दै घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । कालोमोसो दल्नेहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको र कडा कानुनी कारवाही गरिने डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक विद्यानन्द माझीले बताए । करिब ८/१० जनाको समूहले आफुमाथि दुव्यवहार गरेको शिक्षा इकाई प्रमूख पौड्यालले बताए । उल्लेखित आरोपमा कालो मोसो दल्ने कार्यमा नेविसंघका कार्यकर्ता परिचालित भए पनि शिक्षक संगठनका केहि नेता र केहि पत्रकारले आफुलाई अनाहकमा टर्चर दिंदै आएको एवं त्यसको प्रमाण आफुसँग रहेको उनले बताए ।

सुदुरखवरबाट

 

 

चर्चामा

सम्बन्धित समाचार