काठमाडौं — रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा १७ राउन्ड हवाई फायर गरिएको छ ।सोमबार नेकपाको प्रचण्ड(नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याससहित १७ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले लेखाजोखालाई जानकारी दिएका छन् ।
उनका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ९ का वडाध्यक्ष तारबहादुर शाही र घाइते भएका अन्य तीन जना प्रहरीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल वरपर अहिले सुरक्षा व्यवस्था कडा पारिएकोसमेत डीएसपी श्रेष्ठले बताएका छन् ।
मंगलबार बिहानदेखि झडप भइरहेको थियो । झडपको स्थिति नियन्त्रणमा लिन प्रहरी खटिएपछि कार्यकर्ताहरुलाई प्रहरीमाथि पनि ढंगामुढा प्रहार गरेका थिए । प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले हवाई फायर गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । हालसम्म कसैलाई नियन्त्रणमा नलिएको उनले जानकारी दिएका छन् ।