• होमपेज
  • ब्रेक्इङ न्युज
  • ‘घरको ऋण तिर्नै बाँकी छ, पहिरोले बेघर बनाउने भयो’

‘घरको ऋण तिर्नै बाँकी छ, पहिरोले बेघर बनाउने भयो’

पछिल्लो साता पहिरोमा परी कालिकोटमा १३ जनाको मृत्यु, ६ बेपत्ता

  • शुक्रबार, साउन १६, २०७७
सेयर गर्नुहोस् :
‘घरको ऋण तिर्नै बाँकी छ, पहिरोले बेघर बनाउने भयो’
कालिकोटको रास्कोट नगरपालिका–१ मा साउन १२ गते राति गएको पहिरो। तस्बिर सौजन्यः विष्णु न्यौपाने

कालिकोटका नयाँ सार्कीले अघिल्लो हिउँदमा मात्र घर बनाएर सकेका थिए। घर बनाउँदा लागेको ऋण तिर्नै बाँकी छ। चार जनाको परिवारका लागि ठूलो सपना देखेर बनाएको घर पहिरोको धरापमा परेपछि कालिकोटको रास्कोट नगरपालिका–३, सांगाटीयाका सार्कीलाई बेघर हुने चिन्ताले छोपेको छ।

गाउँ वरिपरि पहिरोले कटान गर्दै लगेपछि उनी आफ्नो घर छाडेर सपरिवार नगरपालिकाले व्यवस्था गरेको त्रिपालमा सर्न लागेका छन्। ‘बस्ती दुवैतर्फ खोला छन्, ती खोलाले जमिन कटान गर्दै लगिसके,’ सार्कीले बिहीबार सेतोपाटीसँग भने, ‘अब घर छाडेर नगरपालिकाले राखेको पालमुनि बस्न जहान–केटाकेटी ठिक्क परेका छन्। सक्नेजति केही सामान तयार पारेको छु, घर छाडेरै जानुपर्‍यो।’ उनलाई आफ्नो घर पहिराले बगाउँछ भन्ने निश्चित भइसकेको छ। घरको शौचालय मुनिबाट आएको पहिरोले लगिसकेको र अब घर मात्र बाँकी रहेको उनी बताउँछन्। ‘आज रातिसम्म घर पनि जान्छ होला,’ उनले भने, ‘ऋण नतिर्दै घर जाने भयो।’

यो घर मात्र होइन, सार्कीको खेतबारीमध्ये केही पहिरोले बगाइसकेको छ। मकै, खुर्सानी, धान लगाएको बारी पहिरोले बगाएको उनले बताए।

‘बालीसहितको जग्गा बगाइदियो, भोक र निद्रा हराइसक्यो,’ उनले भने, ‘घरमा भएको सामान पनि पहिरोमै बग्ने भयो।’ रास्कोट–३ का एक वडा सदस्यका अनुसार त्यहाँको सार्की बस्तीभित्र पहिरोले जमिन छियाछिया पारेको छ। एक घरबाट अर्को घरमा जान पनि नसकिने गरी जमिन चिरा परेको उनले बताए।

राहतसहित हेलिकप्टर जाने तयारी

रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बरालका अनुसार नगरापलिकाभर ४८ भन्दा धेरै घर उच्च जोखिममा छन्। जोखिममा भएका घरधुरीका ३०० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने उनले बताए। ‘अधिकांश मानिसलाई सारिसकेका छौं, जोखिमको अवस्था हेरेर केहीलाई सार्ने काम भइरहेको छ,’ मेयर बरालले भने, ‘कसैलाई स्कुलमा, कसैलाई आफन्तको घर र त्रिपालमुनि बसालेका छौं।’

पीडितहरू बसेको ठाउँमा राहत तथा उद्दार सामग्री लिएर सुर्खेतबाट हेलिकप्टर जाने तयारीमा रहेको मेयर बरालले जानकारी दिए। ‘मौसममा सुधार नआएका कारण उड्न सकेको छैन,’ उनले भने। मेयर बरालका अनुसार रास्कोट नगरपालिका– १, चोक्टेबगरका ९ घर, सोही वडाको वेल्केढुंगाका ६ वटा घर उच्च जोखिममा छन्। वडा नम्बर ३ को कुमालवाडाका २५ घर र वडा नम्बर ८ को फडारटाडामा ९ घर पहिरोको उच्च जोखिममा छन्।

सन्नीत्रिवेणीमा २०० परिवार जोखिममा

कालिकोटकै सन्नीत्रिवेणी गाउँपालिकामा पनि करिब २०० घरधुरी पहिरोको जोखिममा रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए। ठाउँठाउँमा गएको पहिरोले जमिन छियाछिया पारेपछि उद्दार तथा पीडितलाई राहत वितरण गर्न समस्या भएको उनले बताए।

‘यहाँ करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्नेछ, केहीलाई सारिसकियो,’ अध्यक्ष शाहीले भने, ‘पहिरोले एक घरबाट अर्को घरसम्म जान नसक्ने गरी बाटो बिग्रिएपछि राहत लैजान र जोखिममा भएकाको उद्दार गर्न समस्या आएको छ।’ सन्नीत्रिवेणी गाउँपालिका–६ पोरिवनका ३० घरपरिवारलाई नजिकैको डोप्क भन्ने ठाउँमा सारिएको छ। उनीहरूलाई पालमुनि राखिएको अध्यक्ष शाहीले बताए ।

नरहरिनाथका १७५ जना विस्थापित

कालिकोटकै नरहरिनाथ गाउँपालिकाका १७५ जना पहिरोको जोखिमले विस्थापित बनेका छन्। उनीहरूलाई स्थानीय विद्यालयहरूमा सारिएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘अझै पनि धेरै जोखिममा रहेको बुझिएको छ तर कति भनेर यकिन गर्न सकिएको छैन,’ उनले भने, ‘केही जोखिम भएका ठाउँमा त उद्दार गर्ने टोली पनि पुग्ने वातावरण नभएकाले उद्दार गर्न सकिएको छैन।’ विस्थापित भएकाहरूलाई राहत वितरण गर्न पनि समस्या भएको अध्यक्ष विष्टले बताए।

१३ जनाको मृत्यु, ६ जना वेपत्ता

कालिकोटमा साउन १२ गते यता पहिरोमा परि १३ जनाको मृत्यु भइसकेको छ भने ६ जना बेपत्ता छन्। साउन १२ गते रातिको अविरल वर्षासँगै आएको पहिरोमा परि कालिकोटको रास्कोट नगरपालिका–१ मा एक जनाको मृत्यु भएको छ। पाँच जना अझै बेपत्ता छन्। स्थानीय जयबहादुर शाहीको घर पुरिँदा उनीसहित ५ जना बेपत्ता थिए। १३ गते बिहान उनको शव फेला परेको थियो।

साउन १२ गते राति नै वडा नम्बर १ कै चोक्टेबगरमा टेके टमट्टाको घर पहिरोमा पुरिँदा सन्नीत्रिवेणी गाउँपालिका–७ की केश्पुरा शाही बेपत्ता भएकी छिन्। उनी साथीको घरमा बस्न गएकी थिइन्। त्यस्तै बुधबार बिहान गएको पहिरोले कालिकोटको नरहरिनाथ गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ। बुधबार बिहान नरहरिनाथ–७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जनाको मृत्यु भएको हो।

६२ वर्षीय गंगे बुढासहित उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीय बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै पहिरोमा परी घाइते भएकी गंगे बुढाकी छोरी विमला बुढाको पनि बुधबार नै उपचार क्रममा मृत्यु भएको छ। मंगलबार राति नरहरिनाथ गाउँपालिका–५ मा गएको पहिरोमा दले बुढाको घर पुरिँदा उनी र उनकी श्रीमती मना बुढाको मृत्यु भएको हो।

कालिकोटकै महाबै गाउँपालिकामा गएको पहिरोमा घर पुरिँदा एक जना बालिकाको मृत्यु भएको छ। बुधबार दिउँसो आएको पहिरोले महावै–७ मा रहेको तुल महताराको घर पुर्दा सोही ठाउँकी ७ वर्षीया संगीता भण्डारीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उक्त पहिरोमा एक जना बालक बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार स्थानीय गणेश महतारा बेपत्ता छन्। बिहीबार बिहान कालिकोटको सन्नीत्रिवेणी गाउँपालिका–६ मा पहिरा जाँदा दुई जनाको मृत्यु भएको छ। लोटेखोला नजिकै पहिरो जाँदा पानीको लाइन मर्मत गर्न गएका एक जना पुरुष र गाईलाई घाँस खुवाउन गएकी एक महिलाको मृत्यु भएको सन्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए।  मृत्यु हुनेमा स्थानीय ३० वर्षीया तारा सञ्जेल र ५५ वर्षका पशुराम सञ्जेल रहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार