कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तर्साउन पोखरामा प्रहरीले हवाई फायर गरेको छ। संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको थियो।
पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेका छन्। सशस्त्रको गाडीको सिसा फुटेको छ। प्रहरीले ८ जनालाई नियन्त्रणमा पनि लिएको छ।
शव गाड्न डोजरले खाल्डो खन्न लाग्दा स्थानीयले अवरोध गरेपछि ८ राउन्ड हवाई फायर गर्नुपरेको कास्की प्रहरीका प्रवत्ता डीएसपी सुवास हमालले बताए।
स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए। उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो। त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ। उनको भने ट्राभल हिस्ट्री छैन।
स्याङ्जाका यी संक्रमितको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको संख्या २ पुगेको छ। यसअघि स्याङ्जाकै ५८ वर्षे पुरुषको २५ जेठमा मृत्यु भएको थियो। उनीचाहिँ भारतबाट आएका थिए। वालिङका ५८ वर्षेको शव व्यवस्थापनमा समेत लफडा भएको थियो। उनको शव पोखराको वडा नम्बर ११ र २० को साँधमा सेतीनदी किनारमा गर्दा स्थानीयले अवरोध गरेका थिए। त्यतिबेला पनि प्रहरीले केहीलाई पक्राउ गर्नुपरेको थियो। प्रदेश सरकारले बनाएको कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी कार्यविधिमा स्थानीय तहसँगको सहकार्य र समन्वयमा प्रशासनले शव व्यवस्थापन गर्ने उल्लेख छ। शव व्यवस्थापनमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिन्छन्।