
टेक बहादुर बुढा — बाजुरा जिल्लामा रहेका सुदूरपश्चिम प्रदेश सरकारका दुई प्रदेश गौरव सडक आयोजनामा विनियोजित ३३ करोडभन्दा बढी बजेट फिर्ता गएको छ। आर्थिक वर्ष २०८२/८३ मा सडक स्तरोन्नति तथा कालोपत्रेका लागि छुट्याइएको बजेट निर्माण कम्पनीले समयमै काम नगर्दा खर्च हुन नसकी फिर्ता गएको हो।
पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार मार्तडी–कोल्टी सडकमा २० करोड रुपैयाँ र खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा करिब १३ करोड ५० लाख रुपैयाँ बजेट फिर्ता भएको छ।
मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा ले गत आर्थिक वर्षको अन्त्यसम्म पनि सम्झौताअनुसार काम सम्पन्न नगरेपछि २० करोड रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको हो। कार्यालयका अनुसार गत वर्ष मात्र होइन, अघिल्ला वर्षहरूमा पनि ठेकेदारको ढिलासुस्तीका कारण करोडौँ रुपैयाँ बजेट फिर्ता हुँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा उक्त सडकका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर निर्माण कम्पनीले समयमै काम नगर्दा १३ करोड ५० लाखभन्दा बढी रकम खर्च हुन नसकी फिर्ता भएको थियो।
यस्तै, प्रदेश गौरवको खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडक मा पनि निर्माण कम्पनीले अपेक्षित प्रगति गर्न नसक्दा करिब १३ करोड ५० लाख रुपैयाँ बजेट फिर्ता भएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा उक्त सडकका लागि १६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर २०७८ चैत १६ गते ठेक्का सम्झौता गरेको के.एस.एम.के.बि.सी÷तेज जेभी, धनगढी कैलालीले आर्थिक वर्षभरिमा करिब दुई करोड ५० लाख रुपैयाँ बराबरको मात्र काम गरेकाले बाँकी बजेट फिर्ता भएको हो।
मार्तडी–कोल्टी सडकअन्तर्गत चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न २०७७ असारमा ठेक्का सम्झौता गरिएको थियो। पीएस बानियाँ निर्माण सेवा ले ५० करोड १७ लाख रुपैयाँमा ठेक्का प्राप्त गरी तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिए पनि आर्थिक वर्षको अन्त्यसम्म उल्लेख्य प्रगति हुन नसकेको कार्यालयले जनाएको छ।
उक्त २६ किलोमिटर सडकका लागि सुरुमा ९८ करोड रुपैयाँको लागत अनुमानसहित टेन्डर आह्वान गरिएको थियो। हालसम्म सडकको करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको कार्यालयको तथ्याङ्क छ।
ठेकेदार कम्पनीले समयमै काम नगर्दा वर्षायाममा मार्तडी–कोल्टी सडक बारम्बार अवरुद्ध हुने गरेको स्थानीय शंकरबहादुर चदाराले बताए। उनका अनुसार सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले वर्षेनी सास्ती खेप्नुपरेको छ। काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको हो । उनी बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।
मार्तडी–कोल्टी सडकको कुल लम्बाइ ४१ किलोमिटर रहेको छ। यो सडक प्रदेश सरकारको बहुवर्षीय योजनामा हाे । यो सडकको २६ किलोमिटर बाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड बजेट विनियोजन भएको थियो । पहिलो खण्डअन्तर्गत मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडकमा अधिकांश काम सम्पन्न भए पनि चुथीदेखि ढम्कनेसम्मको छ किलोमिटर कालोपत्रेको काम अझै बाँकी छ।
पहिलो खण्ड मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडकमा धेरै काम भइसकेको छ । चुथीदेखि ढम्कनेसम्म ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपूरक अनुदानअन्तर्गत निर्माण भइरहेको यस सडकमा ५० प्रतिशत लागत सङ्घ सरकार र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ। २०५६ सालदेखि निर्माण सुरु भएको मार्तडी–कोल्टी सडक २७ वर्ष बितिसक्दा पनि अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन।


