
बाजुरा—बाजुराका युवा बिक्रम बहादुर सिंह अमेरिकी सेनाको कठिन तथा चुनौतीपूर्ण सैनिक तालिम सफलतापूर्वक पूरा गर्दै औपचारिक रूपमा सैनिक सेवामा प्रवेश गरेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–९ का युवा सिंहले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै अमेरिकी सेनामा भर्ना भई आधारभूत सैन्य तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल भएका हुन् ।
इन्जिनियरिङ क्षेत्रमा प्राविधिक भूमिकामा कार्यरत बिक्रमले कडा प्रतिस्पर्धा र चुनौतीपूर्ण सैन्य प्रशिक्षण पार गर्दै यो सफलता हासिल गरेका छन् । अमेरिकी सेनामा उनको भूमिका प्राविधिक तथा इन्जिनियरिङ सम्बन्धी जिम्मेवारीसँग सम्बन्धित रहेको बताइएको छ । बिक्रमको यस उपलब्धिले उनको परिवार मात्र होइन, समग्र बाजुरा जिल्लालाई नै गौरवपूर्ण बनाएको छ । साथै, उनको सफलता अन्य युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ ।
प्रकाश बहादुर सिंहका माइल छोरा बिक्रम बहादुर सिंहको सफलता र उपलब्धिप्रति गर्व व्यक्त गर्दै उनको अथक मेहनत, अनुशासन र निरन्तर प्रयासकै प्रतिफल आजको उपलब्धि भएको बताएका छन्। दुर्गम क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरसम्म पुगेर यस्तो सफलता हासिल गर्नु चुनौतीपूर्ण भए पनि बिक्रमले आफ्नो मेहनत, अनुशासनका आधारमा यो सम्भव बनाएका हुन् ।
अमेरिकी सेनाको तालिम विश्वकै कठिन र अनुशासित सैन्य प्रशिक्षणमध्ये एक मानिन्छ। शारीरिक क्षमता, मानसिक दृढता, नेतृत्व क्षमता, अनुशासन र समर्पणको कठोर परीक्षा पार गरेपछि मात्र सैनिक सेवामा प्रवेश गर्ने अवसर प्राप्त हुन्छ। यस्तै चुनौतीपूर्ण यात्रा सफलतापूर्वक पूरा गर्दै बिक्रमले आफ्नो लक्ष्य हासिल गरेका छन् ।


