
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले ठूलो वर्षाका कारण गेग्रान, बाढीपहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ


