आइतवार, साउन १०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एक वर्षमा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय

एक वर्षमा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय

  • आइतवार, साउन १०, २०८३
सेयर गर्नुहोस् :
एक वर्षमा भित्रिए १२ लाख पर्यटक, २५ प्रतिशत भारतीय

काठमाडौं–आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ । भारतपछि अमेरिका (१११,३२५) दोस्रो तथा चीन (१०९,८९२) तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।

त्यसपछि बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अष्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कात्तिक महिनामा १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका थिए । त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ ।

नेपाल पर्यटन बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई तीव्रता दिइएको बताइएको छ । आर्थिक वर्ष २०८२/८३ मा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई, नयाँ दिल्लीलगायतका विभिन्‍न सहरहरुमा १२ वटा भन्दा बढी प्रबद्र्धनात्मक कार्यक्रम गरिएको थियो । त्यसैगरी समग्रमा अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी नेपालको पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापादेखि प‍श्चिम कञ्चनपुरसम्म विभिन्‍न क्रस–बोर्डर तथा पर्यटन मार्ट र मेला गरिएको थियो । जसको प्रभावका कारण सीमा क्षेत्र हुँदै नेपाल भित्रिने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको बोर्डको विश्लेषण छ ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवद्र्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार