
हिन्दु धर्ममा श्रावण (साउन) महिनालाई अत्यन्तै पवित्र, पुण्यमय तथा भगवान् शिवको प्रिय महिना मानिन्छ। यो महिना धार्मिक आस्था, आध्यात्मिक साधना, प्राकृतिक सौन्दर्य, कृषि कर्म तथा सामाजिक संस्कृतिको अनुपम संगमका रूपमा परिचित छ। वर्षायामको हरियाली, प्रकृतिको ताजगी, नदी–नालाको स्वच्छ बहाव र वातावरणको शीतलताले मानव जीवनमा नयाँ ऊर्जा र सकारात्मक सोचको सञ्चार गराउँछ। त्यसैले साउनलाई केवल धार्मिक महिनाका रूपमा मात्र नभई आत्मशुद्धि, संयम, प्रकृतिप्रेम र सदाचारको महिना पनि मान्ने गरिन्छ।
वैदिक परम्पराअनुसार हरिशयनी एकादशीदेखि भगवान् विष्णु योगनिद्रामा शयन गर्नुहुन्छ र हरिबोधिनी एकादशीमा जागृत हुनुहुन्छ। यस चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ। यही चतुर्मासको पहिलो महिना साउन हो। धार्मिक मान्यताअनुसार भगवान् विष्णु योगनिद्रामा रहँदा सृष्टिको पालन र संरक्षणको जिम्मेवारी भगवान् शिवले वहन गर्नुहुन्छ। यही कारणले साउन महिना भगवान् शिवको विशेष प्रिय महिना मानिएको हो।
साउन महिनाभर विशेष गरी सोमबारका दिन भगवान् शिवको पूजा–आराधना, जलाभिषेक, रुद्राभिषेक, महामृत्युञ्जय मन्त्र जप तथा व्रत गर्ने परम्परा रहिआएको छ। नेपालका पशुपतिनाथ, डोलेश्वर, किराँतेश्वर, गोकर्णेश्वर लगायतका शिवालयहरूमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ। भक्तजनहरू नदी, ताल तथा तीर्थस्थलमा स्नान गरी गङ्गाजल, दूध, दही, मह, बेलपत्र, धतुरो, आकको फूल र अन्य पूजासामग्री चढाएर भगवान् शिवको आराधना गर्दछन्।
स्कन्दपुराण लगायतका विभिन्न हिन्दु धर्मग्रन्थहरूमा साउन महिनालाई शिवको सबैभन्दा प्रिय महिना भनिएको छ। पौराणिक कथाअनुसार दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा अपमानित भएपछि सतीदेवीले यज्ञकुण्डमा आत्मदाह गर्नुभयो। प्राण त्याग्नुअघि अर्को जन्ममा पनि भगवान् शिवलाई नै पति प्राप्त होस् भन्ने कामना गर्नुभएको थियो। त्यसपछि उहाँ हिमालय पर्वत र माता मेनाकी पुत्री पार्वतीका रूपमा जन्मनुभयो। पार्वतीले भगवान् शिवलाई पति बनाउन साउन महिनाभर कठोर निराहार व्रत, तपस्या र उपासना गर्नुभयो। उहाँको कठोर तपस्याबाट प्रसन्न भई भगवान् शिवले पार्वतीलाई अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुभयो। यही कारणले साउन महिना शिव–पार्वतीको दिव्य मिलन र अखण्ड दाम्पत्य प्रेमको प्रतीक मानिन्छ।
यसै विश्वासका आधारमा विवाहित महिलाहरू आफ्ना श्रीमान्को दीर्घायु, स्वास्थ्य, सुख–समृद्धि र पारिवारिक सुख–शान्तिको कामना गर्दै साउने सोमबारको व्रत बस्ने गर्दछन्। अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै शिव–पार्वतीको पूजा गर्ने परम्परा पनि समाजमा प्रचलित छ। साउन महिनामा हरियो चुरा, हरियो पोते, हरिया वस्त्र तथा मेहेन्दी लगाउने चलनले हरियाली, प्रेम, समृद्धि र शुभताको सन्देश दिन्छ।
विगतका ग्रामीण समाजमा अहिलेजस्तो बजारमा सजिलै मेहेन्दी पाइँदैनथ्यो। त्यसबेला महिलाहरूले तिउरी पिसेर हातमा लगाउने र कर्कलोको पातले छोपेर बाँध्ने चलन थियो। त्यो प्राकृतिक र मौलिक संस्कृतिको सुन्दर अभ्यास थियो। आधुनिकतासँगै नयाँ सामग्रीहरू आए पनि आफ्ना मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो।
साउन महिना कृषि कर्मका दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ। किसानहरू धान रोपाइँ, गोडमेल तथा अन्य बालीको हेरचाहमा व्यस्त हुन्छन्। वर्षायामको पर्याप्त पानीले खेतबारी हराभरा हुन्छन्। प्रकृतिले धर्तीलाई हरियो चादर ओढाइदिन्छ। आँप, केरा, लिची लगायतका मौसमी फलफूल बजारमा प्रशस्त पाइन्छन्। हरियालीले ढाकिएको डाँडाकाँडा, वनजंगल, खोलानाला र झरनाले प्रकृतिको अनुपम सौन्दर्य झल्काउँछन्। यसले मानिसको मनलाई शान्त, आनन्दित र सकारात्मक बनाउँछ।
साउन महिनाले वातावरणीय चेतना पनि सिकाउँछ। वर्षा, वनस्पति, जलस्रोत र जैविक विविधताको संरक्षण गर्नुपर्ने सन्देश यही मौसमले दिन्छ। प्रकृतिसँग सन्तुलित सम्बन्ध कायम राख्दा मात्र मानव जीवन सुखी र समृद्ध बन्न सक्छ।
धर्मशास्त्र, समाजशास्त्र, मानवशास्त्र, ज्योतिष तथा आधुनिक विज्ञानले पनि साउन महिनामा सात्त्विक जीवनशैली अपनाउनु लाभदायक मान्छन्। सात्त्विक भोजन, संयमित व्यवहार, शुद्ध विचार, सत्य बोल्ने बानी, क्रोध र अहंकारबाट टाढा रहने अभ्यासले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। शाकाहारी भोजन, नियमित पूजा, ध्यान, योग र आत्मअनुशासनले शरीर र मन दुवै स्वस्थ रहन्छन्। यसले अध्ययन, शिक्षा, निर्णय क्षमता तथा सामाजिक सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
धार्मिक विश्वासअनुसार साउन महिनामा गरिएका दान, जप, तप, व्रत, सेवा, पूजा तथा शुभकार्यको फल अन्य समयको तुलनामा बढी प्राप्त हुन्छ। त्यसैले यो महिना आत्मसुधार, परोपकार, धार्मिक आस्था र सामाजिक सद्भावको महिना पनि हो।
आजको समयमा साउनसँग जोडिएका केही परम्पराहरू अत्यधिक भड्किलो बन्दै गएका छन्। विशेष गरी हरियो चुरा, पोते तथा सौन्दर्य सामग्रीहरू ठूलो परिमाणमा विदेशबाट आयात भइरहेका छन्। यसले स्वदेशी उद्योग, स्थानीय उत्पादन र अर्थतन्त्रमा प्रतिकूल असर पार्न सक्छ। त्यसैले सम्भव भएसम्म स्वदेशमै उत्पादित सामग्री प्रयोग गर्ने, स्थानीय उद्यमलाई प्रोत्साहन गर्ने तथा सादगीपूर्ण ढङ्गले आफ्ना संस्कृति र परम्परालाई निरन्तरता दिने संस्कार विकास गर्नु आवश्यक छ।
साउनले हामीलाई केवल पूजा गर्न मात्र सिकाउँदैन, यसले मन, वचन र कर्मलाई शुद्ध बनाउने प्रेरणा दिन्छ। सत्य, करुणा, क्षमा, दया, सहयोग, सदाचार र मानव सेवाको मार्गमा अघि बढ्न साउन महिनाले हरेक व्यक्तिलाई प्रेरित गर्दछ।
आउनुहोस्, यस पवित्र श्रावण महिनामा भगवान् शिवको आराधना गरौँ। सात्त्विक आहार–विहार अपनाऔँ। प्रकृतिको संरक्षण गरौँ। आफ्ना मौलिक संस्कृति र परम्पराको सम्मान गरौँ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ। मन, वचन र कर्मलाई सधैँ पवित्र, शुद्ध र सकारात्मक बनाउँदै समुन्नत समाज निर्माणमा सबै मिलेर अघि बढौँ।
हर हर महादेव!

