
चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै भएको बस दुर्घटनामा २५ बढी यात्रु घाइते भएकान छन् । प्रहरीले दुर्घटनामा २५ बढी यात्रु घाइते भएको बताए पनि संख्या यकिन गरेको छैन । प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं र काठमाडौंबाट दाङ जाँदै गरेका दुईवटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । काठमाडौं जाँदै गरेको बा.प्र. ०३ ००१ ख १६७१ नम्बरको बस हो । दाङका लागि छुटेको बसको भने नम्बर खुलेको छैन । सोही बसका चालक गम्भीर घाइते छन् ।
दुर्घटना भएपछि अवरुद्ध भएको सडक अहिले खुलाइएको छ । घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।
वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो । सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

