
काठमाडौं–नेपाली कांग्रेसको संस्थापन इतर समूहले कार्यालय स्थापना गरेको छ । आज एक कार्यक्रमबीच इतर समूहको नेतृत्व गरिरहेका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए। त्यसअघि नेताहरूबीच छलफल भएको थियो । छलफलमा पूर्णबहादुरले ब्रिफिङ गरेका थिए ।
उनले ब्रिफिङ गर्दै भनेका थिए, ‘हामी अहिले शेखर कोइरालासहित १११ जना छौँ । १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजनको प्रस्ताव गरेका हौँ । सातबुँदेको जवाफ भेटेकै दिन उपसभापति विश्वलाई दिएको हुँ ।लिखित दिनुस् भन्नुभएको थियो । मैले जसरी हामीलाई व्हाटस्एपमा पठाउनु भयो, त्यसै गरी टाइप गर्नुस भनेँ । टाइप गर्नु भो ।’
उनले थपे, ‘टाइप गरेर सुनाउनु भो । यही हो दाइ फाइनल भन्नु भयो । मैले हो भनेँ । अनि उहाँले गगनजीलाई सबै कुरा सुनाउँछु । तपाईं पनि नेताहरुलाई सुनाउनुस्, गगनजीसँग आफैं गएर छलफल गर्नुस् भन्छु भन्नू भो ।
उनले उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको बताएको पनि ब्रिफिङ गरे ।
तर आफूले त्यसलाई अस्वीकार गरेको उनको भनाइ छ । विश्वसँग भेटेपछि भोलिपल्ट केही आउला भनेर आफूले कुरेको तर केही खबर नआएको पनि उनले बताए ।
‘भोलि बिहान ९ बजेसम्म कुरे । कुनै खबर आएन । केही बेरपछि महामन्त्री प्रदीप पौडेललाई कोट गरेर समाचार आयो- शीर्ष नेताको सदस्यता स्वत: अधावधिक भनेर । मलाई देशभरबाट फोन आयो, आफ्नो अधावधिक हुने, हाम्रो नहुने भनेर । मैले समचारको खण्डन गरेँ सामाजिक सञ्जालबाट । अनि फोन आउन बन्द भयो’ उनले भने ।
उनले अब भोलिदेखि २/३ दिन नियमित छलफल गर्ने पनि बताए । साउन ६ बीपी जयन्ती विशेष कार्यक्रम गर्ने उनको भनाइ छ ।


