बुधबार, असार २४, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुरामा आर्थिक गतिविधि विस्तार, पाँच हजार बढी व्यवसाय सञ्चालनमा

बाजुरामा आर्थिक गतिविधि विस्तार, पाँच हजार बढी व्यवसाय सञ्चालनमा

७ वर्षमा थपिए एक हजार ३२९ व्यवसाय

  • बुधबार, असार २४, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा आर्थिक गतिविधि विस्तार, पाँच हजार बढी व्यवसाय सञ्चालनमा

बाजुरा–राष्ट्रिय आर्थिक गणना २०८२ ले बाजुरा जिल्लामा आर्थिक गतिविधि विस्तार हुँदै गएको तथ्यांक देखाएको छ । हालै सम्पन्न दोस्रो राष्ट्रिय आर्थिक गणनाले जिल्लामा नयाँ व्यवसाय तथा आर्थिक एकाईहरुको संख्या बढ्दै गएको देखाएको हो ।

२०८३ वैशाख २ गतेबाट सुरु भएको आर्थिक गण्नाबाट जिल्लामा सञ्चालनमा रहेका उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठान, होटल तथा रेष्टुरेन्ट, निर्माण कम्पनी, बैंक तथा वित्तीय संस्था, सहकारी,सामाजिक संस्था, शैक्षिक तथा स्वास्थ्य संस्था, दर्ता भएका कृषि व्यवसाय लगायतका आर्थिक इकाइको स्थलगत रुपमा तथ्यांक संकलन गरिएको थियो ।

राष्ट्रिय आर्थिक गणना कार्यालय बाजुराका आर्थिक गणना अधिकारी प्रकाश बिष्टकाअनुसार सात वर्षको अवधिमा जिल्लामा सञ्चालनमा रहेका व्यवसाय तथा आर्थिक एकाइको संख्या ३ हजार ८९१ बाट बढेर ५ हजार २२० पुगेको छ । पहिलो आर्थिक गणना २०७५ मा जिल्लामा ३ हजार ८९१ वटा प्रतिष्ठान/व्यवसाय सञ्चालनमा रहेको तथ्यांक संकलन भएको थियो । यस अवधिमा १ हजार ३२९ नयाँ व्यवसाय तथा आर्थिक इकाइ थपिएका छन्।

स्थानीय तहमध्ये जिल्लाको सदरमुकाम समेत रहेको बडीमालिका नगरपालिकामा सबैभन्दा बढी आर्थिक एकाइ रहेका छन्। यहाँ २०७५ मा ८३६ आर्थिक इकाइ रहेकोमा २०८२ मा १ हजार ११ पुगेका छन्। त्यसपछि बुढीगंगा नगरपालिकामा ५३० बाट ७६५, बुढीनन्दा नगरपालिकामा ५९५ बाट ७५६ र त्रिवेणी नगरपालिकामा ३७५ बाट ६०६ आर्थिक एकाइ पुगेका छन् ।

गाउँपालिकातर्फ खप्तड छेडेदहमा ४९७ बाट ५९१, हिमालीमा ३३८ बाट ४५०, जगन्नाथमा २७७ बाट ४०८, गौमुलमा २६३ बाट ३४५ तथा स्वामिकार्तिक खापरमा १८० बाट २८८ आर्थिक एकाइ पुगेका छन् । यस तथ्यांकले जिल्लाका सबै स्थानीय तहमा व्यवसाय विस्तार भएको देखाएकाे छ।

सदरमुकाम केन्द्रित बजार विस्तार, सडक पहुँचमा सुधार, बैंक तथा वित्तीय सेवाको विस्तार, निजी लगानी र स्थानीय उद्यमशीलताको विकासले आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याएको कार्यालयले जनाएको छ । आर्थिक गणनाको तथ्याङ्कले बाजुरामा आर्थिक गतिविधि विस्तारको संकेत दिएको भन्दै यसलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणसँग जोड्न सके जिल्लाको आर्थिक विकासले अझ गति लिने अपेक्षा सरोकारवालाहरुले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार