
ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो खेल गुमाउने भएका छन् । पिँडुलाको चोट पूर्ण रूपमा ठिक नभएका कारण उनी टोलीबाट बाहिरिएको ब्राजिलियन फुटबल कन्फेडेरेसनले पुष्टि गरेको छ ।
समूह ‘सी’ अन्तर्गत फिलाडेल्फियामा हुने हैटीविरुद्धको खेलका लागि ३४ वर्षीय नेयमार टोलीसँग यात्रा गर्ने छैनन् । सीबीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “नेयमार आफ्नो रिकभरी प्रक्रियाको अन्तिम चरणलाई तीव्र बनाउन न्युजर्सीमै रहनेछन् र होटलकै सुविधामा उपचार जारी राख्नेछन् ।”
ब्राजिलका लागि सर्वाधिक ७९ अन्तर्राष्ट्रिय गोल गरेका नेयमार गत मे १७ मा सान्तोसबाट खेल्ने क्रममा घाइते भएका थिए । आफ्नो चौथो विश्वकप खेलिरहेका उनले टोलीमा फर्कनका लागि मंगलबारदेखि सामान्य शारीरिक अभ्यास सुरु गरेका थिए भने बुधबार केही समय टोलीसँग बिताएका थिए । यद्यपि, उनले अहिलेसम्म टोलीसँग पूर्ण रूपमा प्रशिक्षण भने गर्न सकेका छैनन् ।
नेयमारको चोट र उनको वर्तमान फर्मलाई लिएर ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले उनलाई विश्वकप टोलीमा राख्ने निर्णयप्रति ब्राजिलभित्रै ठुलो बहस भइरहेको छ ।
पाँच पटकको विश्वविजेता ब्राजिलले आफ्नो पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो । हैटीविरुद्धको खेलमा जित निकाल्दै समूहमा बलियो स्थिति बनाउने दबाबमा ब्राजिल रहेको छ ।


