बिहिबार, असार १८, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • १२ वर्ष दुर्व्यसनको जालोमा फसेका भुवन, जो आज बाजुराकै प्रेरणा बन्दैछन्

१२ वर्ष दुर्व्यसनको जालोमा फसेका भुवन, जो आज बाजुराकै प्रेरणा बन्दैछन्

  • बिहिबार, असार १८, २०८३
सेयर गर्नुहोस् :
१२ वर्ष दुर्व्यसनको जालोमा फसेका भुवन, जो आज बाजुराकै प्रेरणा बन्दैछन्

पदमबहादुर सिंह–कुलतको कहालीलाग्दो दलदलबाट निस्किएर समाज रूपान्तरणको एउटा बलियो खम्बा बन्न सफल बाजुराको बुढीगंगा नगरपालिका–९, सेरालवाडाका ३८ वर्षीय भुवन सेरालाको कथा अहिले सिङ्गो बाजुरा जिल्लाका लागि एउटा प्रेरणा बनेको छ। कुनै समय चौबिसै घण्टा अत्यधिक मदिरा र लागूऔषधको नशामा डुबेर आफ्नै भविष्य अन्धकार बनाइरहेका भुवन आज त्यही समाजलाई कुलतमुक्त बनाउने महाअभियानको मुख्य नायक बनेका छन्।

१२ वर्षसम्म दुर्व्यसनको यस्तो भयानक जालोमा फसेका उनी, जहाँबाट उम्किनु उनका लागि मात्र होइन, उनलाई देख्ने र भोग्ने सिङ्गो गाउँका लागि समेत असम्भव जस्तै लाग्थ्यो। तर, दृढ इच्छाशक्ति, ७ महिनाको सुधार गृहको बसाइ र बुढीगंगा नगरपालिकाको सानो तर दूरगामी सहयोगले उनको जीवनलाई यसरी मोडिदियो कि, हिजो समाजका लागि चुनौती बनेका भुवन आज त्यही समाजको रक्षा गर्ने रक्षकका रूपमा उभिएका छन्।

पछिल्लो समय बुढीगंगा नगरपालिकाभित्रका किशोर र युवा पुस्तामा लागूऔषध दुर्व्यसनको लत एउटा भयावह समस्याका रूपमा देखा परिरहेको छ। आधुनिकता, गलत सङ्गत र सचेतनाको अभावका कारण थुप्रै युवाहरू बिस्तारै कुलतको भुमरीमा फसिरहेका छन्, जसले गर्दा धेरै परिवार उजाडिने अवस्थामा पुगेका छन्।

आफ्नै पालिकाका युवाहरूको यो बेहाल र बर्बाद भइरहेको भविष्य देखेर बुढीगंगा नगरपालिकाले यसलाई सामान्य रूपमा लिएन। यसको न्यूनीकरणका लागि नगरपालिकाले एउटा बृहत् अभियानकै रूपमा काम सुरु गर्‍यो।

यो अभियानलाई कागजी योजना वा औपचारिक भाषणमा मात्र सीमित राख्नु हुँदैन भन्ने कुरामा नगरपालिका स्पष्ट थियो। त्यसैले पालिकाले यसको कमान्ड सम्हाल्ने जिम्मा यस्तो व्यक्तिलाई दियो, जो आफैँ यो पीडा भोगेर, नशाको संसारलाई नजिकबाट चिनेर फर्किएको थियो। नगरपालिकाले यस अभियानको जिम्मेवारी भुवन सेरालालाई सुम्पियो। अहिले उनी पालिकाको तर्फबाट अभियानकर्ताका रूपमा अहोरात्र खटिरहेका छन्।

अहिले भुवनको दैनिकी निकै बदलिएको छ। उनी हरेक बिहान सबेरै आफ्नो घरबाट एउटा गम्भीर उद्देश्य बोकेर निस्कन्छन्।

बाटोमा हिँड्दा होस् या गाउँका चिया चौतारीहरूमा, जहाँसुकै भेटिएका मानिसहरूसँग उनी सहजै घुलमिल हुन्छन् र गफगाफकै सिलसिलामा बिस्तारै लागूऔषध दुर्व्यसनको घातक असर र यसको न्यूनीकरणको विषयमा सचेतना जगाउँछन्। उनी केवल गफ मात्र गर्दैनन्, बरु आफ्नै जीवनको तीतो यथार्थलाई साक्षी राखेर युवाहरूलाई सम्झाउँछन्।

बुढीगंगा नगरपालिकाभित्र आयोजना हुने जुनसुकै सार्वजनिक सभा, समारोह, बैठक वा औपचारिक कार्यक्रमहरूमा अहिले भुवनको उपस्थिति अनिवार्य जस्तै बन्न थालेको छ। मञ्च पाऊन् कि नपाऊन्, उनी लागूऔषध दुर्व्यसनविरुद्धको सचेतना र यसले निम्त्याउने पारिवारिक तथा सामाजिक सङ्कटका विषयमा जोडदार रूपमा आफ्ना भनाइहरू राख्छन्। उनको बोल्ने शैली र आफ्नै जीवनको भोगाइ भएकाले मानिसहरू उनका कुरा निकै गम्भीर भएर सुन्ने गर्छन्।

समय कसरी बदलिन्छ र मानिसको कर्मले कसरी उसको पहिचान बदल्छ भन्ने कुरा भुवनको जीवनमा प्रस्ट देख्न सकिन्छ। कुनै समय यस्तो थियो, जब भुवन बाटोमा आउँदै गरेको देख्दा पनि गाउँलेहरू ‘त्यो जँड्याहा आयो, अब रक्सी खान पैसा माग्छ’ भन्दै ढोका थुन्थे त कतिपय टाढैबाट बाटो काटेर भाग्ने गर्थे। परिवारबाट अपहेलित र समाजबाट पूर्ण रूपमा तिरस्कृत भइसकेका थिए उनी।

तर आज उनीप्रति समाजको दृष्टिकोण निकै गौरवपूर्ण बनेको छ। हिजो उनलाई देखेर भाग्नेहरू नै आज भुवन आएको देख्दा खुसी हुँदै कुरेर बस्छन्। गाउँलेहरू अहिले “भुवन आयो, अब पालिका, गाउँ, समाज र देशमा नयाँ के–के सकारात्मक काम र विकास भइरहेको रहेछ, सबै नयाँ जानकारी र चेतनाका कुरा सुन्न पाइने भयोू भन्दै उनलाई घेरेर बस्छन् र उनीसँग सल्लाह–सुझाव माग्छन्।

भुवनको यो ऐतिहासिक रूपान्तरण अत्तरियास्थित उग्रतारा सुधार गृहमा रहँदा पाएको पुनर्जीवनकै परिणाम हो। उनको नाजुक अवस्था देखेर बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको विशेष अग्रसरतामा पालिकाले करिब १ लाख ३० हजार रुपैयाँको आर्थिक व्यवस्थापन गरी उनलाई सुधार गृह पठाएको थियो।

नगर प्रमुख बानियाँ आफैँ पनि भुवनमा आएको यो अद्भुत परिवर्तन देखेर अचम्मित र निकै खुसी छन्। सुरुमा एउटा बिग्रिएको युवा सुध्रिएला र भन्ने संशय समाजमा रहे पनि अहिले भुवनले आफ्नो काम र व्यवहारबाट सबैको मन जितेका छन्। सुधार गृहको ७ महिनाको बसाइले उनलाई नशाको विकल्पमा समाजसेवाको यस्तो लत लगाइदियो कि अहिले उनी नशाको नामसमेत लिन चाहँदैनन्।

यो अभियानले भुवनको व्यक्तिगत जीवनमा पनि ठुलो खुसी र शान्ति ल्याएको छ। कुलतमा रहँदा आर्थिक र मानसिक रूपमा क्षतविक्षत भएको उनको परिवार— जसमा उनकी श्रीमती, दुई छोरा र एक छोरी छन्— अहिले निकै सुखी छ। घर र समाजमा आफ्नो गुमेको सम्मान र माया फिर्ता पाएपछि भुवन थप ऊर्जाका साथ काम गरिरहेका छन्।

अहिले उनी अभिभावकहरूलाई आफ्ना छोराछोरीको इच्छा, चाहना र उनीहरूको दैनिक क्रियाकलापमा सूक्ष्म ध्यान दिन आग्रह गर्छन्, ताकि कोही पनि सुरुमै कुलतको बाटोमा लाग्न नपाऊन्। बुढीगंगा नगरपालिकाले भुवनलाई अभियानकर्ताका रूपमा अघि सारेर सुरु गरेको यो अभियानले अहिले नगरभित्रका थुप्रै युवाहरूलाई कुलतबाट जोगाउन कोसेढुङ्गाको काम गरिरहेको छ। यसले एउटा व्यक्ति सच्चिँदा सिङ्गो समाजले कस्तो नयाँ गति लिन सक्छ भन्ने गतिलो सन्देश दिएको छ।

चर्चामा

सम्बन्धित समाचार