
बाजुरा— लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा बाजुराको बुढीगंगा नगरपालिकामा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। दिवसको अवसरमा नगरपालिकाले माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, बहस, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लागूऔषध दुरुपयोगविरुद्ध सामूहिक प्रतिबद्धता व्यक्त गरेको हो। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सुरक्षा निकाय, स्थानीय तह, विभिन्न संघसंस्था, पत्रकार, व्यवसायी, शिक्षक, विद्यार्थी तथा सरोकारवालाको सहभागितामा लागूऔषध नियन्त्रणसँगै बालविवाह, लैङ्गिक हिंसा न्यूनीकरण तथा प्रभावकारी सेवा प्रवाहका विषयमा समेत सचेतना अभिवृद्धि गरिएको थियो।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले लागूऔषध दुरुपयोगले व्यक्ति, परिवार र समाजलाई गम्भीर क्षति पुर्याउने भएकाले यसको नियन्त्रण सबैको साझा जिम्मेवारी भएको बताए। उनले युवापुस्तालाई कुलतबाट जोगाउन स्थानीय सरकार, अभिभावक, विद्यालय, सुरक्षा निकाय र समुदायबीच समन्वयात्मक प्रयास आवश्यक रहेको उल्लेख गर्दै सचेतनामूलक अभियानलाई निरन्तरता दिइने बताए।
उपप्रमुख माया खड्का कुँवरले लागूऔषध दुव्र्यसन सामाजिक समस्याका रूपमा फैलिँदै गएको उल्लेख गर्दै यसको रोकथामका लागि विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले बालविवाह, लैङ्गिक हिंसा र अन्य सामाजिक विकृतिविरुद्ध पनि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्।
सामाजिक अभियन्ता तथा काउन्सिलर भुवन सेरालाले आफ्नो जीवनकाे अनुभव सुनाउँदै युवालाई भावुक अपिल गरे। एक समय आफू पनि लागूऔषधको कुलतमा फसेर सुधार गृहसम्म पुग्नुपरेको स्मरण गर्दै उनले सही समयमै परिवार, समाज र सम्बन्धित निकायको सहयोग पाएपछि नयाँ जीवन सुरु गर्न सफल भएको बताए।
“लागूऔषधले क्षणिक आनन्द दिएजस्तो देखिए पनि अन्ततः यसले भविष्य, परिवार र सपना सबै खोसिदिन्छ। कुलतमा फसिसकेपछि बाहिर निस्कन निकै कठिन हुन्छ, त्यसैले युवाहरूले पहिलो पटक नै ‘होइन’ भन्न सिक्नुपर्छ,” उनले भने। सेरालाले अहिले आफू विभिन्न समुदाय र विद्यालयमा पुगेर लागूऔषधविरुद्ध सचेतना फैलाउने अभियानमा सक्रिय रहेको जानकारी दिँदै सुधार सम्भव भएकाले कुलतमा फसेका व्यक्तिलाई पनि समाजले अवसर दिनुपर्ने धारणा राखे।
कार्यक्रमका सहभागीहरूले लागूऔषध दुरुपयोग नियन्त्रणका लागि केवल कानुनी कारबाही मात्र पर्याप्त नहुने, समुदायस्तरमै निरन्तर जनचेतना, परामर्श सेवा, पारिवारिक सहयोग र युवामैत्री कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। नगरपालिकाले यस्ता अभियानलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ।
त्यसै गरी लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा बुढीगंगा नगरपालिका–९ मा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। “सचेतना बढाऔँ, लागूऔषध दुव्र्यसन हटाऔँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा लागूऔषध दुव्र्यसन न्यूनीकरण, युवालाई कुलतबाट जोगाउने उपाय तथा समुदायको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो।
बुढीगंगा नगरपालिका–९ का वडाध्यक्ष मिनबहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता तथा काउन्सिलर भुवन सेरालाले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिनबहादुर सिंहले लागूऔषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको बताए। उनले वडा कार्यालयले युवालाई सकारात्मक गतिविधिमा जोड्ने तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका सञ्चालक तथा सामाजिक अभियन्ता भुवन सेरालाले आफ्नो जीवन अनुभव सुनाउँदै लागूऔषधको कुलतले व्यक्तिको भविष्य, परिवार र समाजलाई गम्भीर क्षति पुर्याउने बताए। एक समय आफू पनि कुलतमा फसेर सुधार गृहसम्म पुग्नुपरेको स्मरण गर्दै उनले सही परामर्श, परिवारको साथ र आत्मविश्वासका कारण नयाँ जीवन सुरु गर्न सफल भएको उल्लेख गरे। उनले युवालाई पहिलो पटक नै गलत संगत र लागूऔषधबाट टाढा रहन आग्रह गर्दै कुलतमा फसेका व्यक्तिलाई समाजले घृणा होइन, सुधारको अवसर दिनुपर्ने धारणा राखे।
कार्यक्रममा कार्यपालिका सदस्य बुदीदेवी नेपाली, सर्पजित सार्की, वडा सदस्य दाने सेराला, खडक रावल, जुगु सार्की तथा पत्रकार लक्ष्मीराज पाध्यायलगायतले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। वक्ताहरूले युवामा बढ्दो कुलत, बालविवाह, लैङ्गिक हिंसा तथा अन्य सामाजिक विकृतिविरुद्ध समुदायस्तरबाट निरन्तर सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनीहरूले लागूऔषध नियन्त्रण केवल प्रहरी वा कानुनी कारबाहीको विषय मात्र नभई परिवार, विद्यालय, स्थानीय सरकार, सञ्चारमाध्यम र सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै युवालाई शिक्षा, खेलकुद, सीपमूलक तालिम तथा सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, युवा, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लागूऔषधमुक्त समाज निर्माणका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई वडा तथा समुदायस्तरमा निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।


