
बाजुरा— बाजुराको हिमाली गाउँपालिका–१ बिच्छियामा गम्भीर पेटसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित एक स्थानीयको नेपाल प्रहरीले उद्धार गरेकाे छ । प्रहरीले उपचारका लागि अस्पताल पठाउनुका साथै आर्थिक सहयोगसमेत गरेको हाे । हिमाली गाउँपालिका–१ बिच्छिया निवासी नलधन थापा (प्रधान) मिति २०८३ असार १० गते एक्कासी पेटसम्बन्धी गम्भीर समस्याबाट बिरामी परेपछि स्थानीय प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी कर्मचारीहरूले तत्काल उद्धार तथा उपचारको समन्वय गरेका हुन्।
प्रहरीका अनुसार बिरामीको अवस्था गम्भीर बन्दै गएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले तत्काल पहल गरी हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत कोल्टी अस्पताल, बाजुरा पठाउने व्यवस्था मिलाएको थियो। समयमै गरिएको उद्धार र उपचार समन्वयका कारण थापाको ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ। उद्धारमा मात्रै सीमित नभई प्रहरी चौकी बिच्छियाले बिरामीको उपचारमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोगसमेत प्रदान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले बताएका छन ।
स्थानीयस्तरमै उपलब्ध स्रोत–साधन परिचालन गर्दै प्रहरीले देखाएको तत्परताले संकटको समयमा सुरक्षा निकायको मानवीय भूमिका झल्काएको छ। प्रहरी चौकी रहेको घरका घरबेटीसमेत रहेका थापाको स्वास्थ्य अवस्था अचानक जटिल बनेपछि प्रहरी कर्मचारीहरूले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वका साथ सहयोग गरेकाे सुचना अधिकारी शाहीकाे भनाइ रहेकाे छ । स्थानीयवासीले समेत बिरामीको उद्धार, एम्बुलेन्स व्यवस्थापन र आर्थिक सहयोगमा प्रहरीको भूमिका प्रशंसनीय रहेको बताएका छन्।
नेपाल प्रहरीले नागरिकको शान्ति सुरक्षा कायम गर्नुका साथै आपत्–विपत्, दुर्घटना र मानवीय संकटका बेला नागरिकको जीवन रक्षा तथा सेवामा सदैव अग्रसर रहने प्रतिबद्धता यस घटनाले पुनः पुष्टि गरेको स्थानियकाे भनाइ रहेकाे छ। “प्रहरी मेरो साथी” भन्ने नारालाई व्यवहारमै उतार्दै स्थानीय प्रहरीले बिरामीको उपचारमा सक्रिय साथ दिएको देखिएको छ।


