शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • अर्थ
  • सुदूरपश्चिम प्रदेश : बजेट संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारुढ एमालेको निर्णय

सुदूरपश्चिम प्रदेश : बजेट संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारुढ एमालेको निर्णय

  • शुक्रबार, असार ५, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिम प्रदेश : बजेट संशोधन प्रस्ताव दर्ता गर्ने सत्तारुढ एमालेको निर्णय

धनगढी–सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले प्रदेश सभामा प्रस्तुत अगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा संशोधन हाल्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले बजेट प्रस्तावमा संशोधन हाल्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले असार १ गते मध्यरातमा प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा विनियोजन विधेयकको सिद्धान्तविपरीत भएको, मन्त्रालयगत बजेटको विनियोजन नराखिएको, योजना छनोट मापदण्ड मिचिएको लगायतका विषयमा प्रश्न उठाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय लिइएको एमाले संसदीय दलले जनाएको छ । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले अगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गर्ने बैठकमा सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी थिए । संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । संसदीय दलले गरेको निर्णयका आधारमा अब संशोधन प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिने एक सांसदले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि बजेट बिचौलिया र कार्यकर्तामुखी भएको भन्दै प्रदेश सभाबाट पारित गर्न नदिने अडान लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार