
बाजुरा– बालबालिका सम्बन्धी तथ्यांकको व्यवस्थापन, अभिलेखीकरण तथा बाल संरक्षणसम्बन्धी गतिविधिहरूको प्रभावकारी कार्यान्वयनका लागि बाल अधिकार समिति तथा स्थानीय सरकारको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (CPIMS) सम्बन्धी तालिम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपाल सँगको सहकार्यमा पीसविन नेपालद्धारा सञ्चालित आभा परियोजना अन्तर्गत आयोजित यो तालिम बाजुरा जिल्लामा पहिलो पटक सञ्चालन गरिएको हो ।
तालिममा बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका बाल अधिकार समितिका पदाधिकारी, जनप्रतिनिधि र बाल संरक्षण क्षेत्रमा कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको पीसविन नेपालका परियोजना संयोजक पदम कठायतले जानकारी दिए । तालिमका क्रममा सहभागीहरूलाई बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (CPIMS) को प्रयोग, बालबालिकासम्बन्धी तथ्यांकको अभिलेखीकरण, सूचना प्रविष्टि, प्रतिवेदन तयारी तथा बाल संरक्षणका घटनाको व्यवस्थापन लगायत विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको उनले बताएका छन ।
२०८३ असार २ गते शुरु भएको यक्त तालिम असार ४ गते सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया कुँवर खड्काले बाल संरक्षणका घटनाहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न र आवश्यक सेवामा बालबालिकाको पहुँच सुनिश्चित गर्न CPIMS प्रणाली प्रभावकारी माध्यम बन्न सक्ने बताइन्। उनले बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्न यस्ता प्रविधिमैत्री प्रणालीको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुपर्ने उल्लेख गरिन् ।
त्यसैगरी, त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमला कुमारी जैशी (न्यौपाने) ले बालबालिकासम्बन्धी तथ्यांकको विश्वसनीय व्यवस्थापनले नीति निर्माण, योजना तर्जुमा तथा निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन् । साथै, बाल संरक्षणका क्षेत्रमा कार्यरत निकायहरूबीच समन्वय र सूचना आदानप्रदानलाई CPIMS ले थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमकी अध्यक्ष तथा पीसविन नेपालकी अध्यक्ष बिमला थापाले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न तथ्यमा आधारित योजना र निर्णय अपरिहार्य रहेको उल्लेख गर्दै CPIMS प्रणाली त्यसका लागि महत्वपूर्ण आधार बन्न सक्ने बताइन् । उनले तालिमबाट हासिल भएको ज्ञान र सीपलाई व्यवहारमा लागू गरी स्थानीय तहमा बाल संरक्षण प्रणालीलाई अझ प्रभावकारी र दिगो बनाउन सबै सहभागीलाई आग्रह गरिन् ।
तालिममा सहभागीहरूले सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्दै बाल संरक्षणसम्बन्धी गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने आगामी दिनमा बाल संरक्षण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक समन्वय, सहकार्य र सूचना व्यवस्थापनलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
उक्त समापन कार्यक्रम पीसविन नेपालकी अध्यक्ष बिमला थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका तथा गौमुल गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा बाल संरक्षण क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


