
टेक बहादुर बुढा–बाजुराको लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ । बाजुरा र हुम्लाका स्थानीयहरु बीच हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर विवाद र झड्प भएको दुई सातापछि सरकारले अस्थायी सुरक्षा बेस स्थापना गरेको हो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार लाम्पाटामा संयुक्त सुरक्षा बेसका लागि सदरमुकाम मार्तडीबाट बुधवार टोली हिडेको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षक मिठ्ठु बहादुर बोहराको कमाण्डमा ७ जना नेपाल प्रहरी गरी २८ जनाको टोली पठाइएको जानकारी दिए । तीन महिनासम्म सुरक्षा बेस स्थापना गरेर रानीसैन क्षेत्रमा सुरक्षाका लागि उक्त टोलीले नियमित गस्ती गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
हिमाली गाउँपालिका ३ लाम्पाटामा जेठ ३ र ५ गते स्थानीयबासी, कर्मचारी तथा जनप्रतिनिधिमाथि हुम्लाका नागरिकहरुले लाम्पाटामै आएर कुटपिट तथा दुव्र्यवहार गरेका थिए । यस्तै जेठ २३ गते हुम्ला क्षेत्रका बासिन्दाले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको तथा दुव्र्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् ।
लाम्पाटा र रानीसैनको सुरक्षा अवस्थालाई मध्यनजर गरेर लाम्पाटामा प्रहरीको अस्थायी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी शैलेश्वरी बोहराले बताएकी छन् । उनकाअनुसार सशस्त्र र नेपाल प्रहरीको संयुक्त टिम लाम्पाटा बस्ने भएको हो । नेपाल सरकारको निर्णय अनुसार प्रहरी लाम्पाटामा बस्ने बोहराले बताइन् ।
यहीँ जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुव्र्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोलीमाथि आक्रमण गरिएको थियो ।
घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए । पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ । भोटे समुदायका व्यक्तिहरूले आफूहरू असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, अन्तरजिल्ला सीमा तथा स्वामित्वसँग जोडिएका विवादलाई वार्ता र समन्वयमार्फत समाधान गर्न सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । रानिसैन संघर्ष समितिले विरोधका कार्यक्रम गर्दै आएको छ ।


