बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • क्रिकेट
  • कुशलको अर्को शतकीय कीर्तिमान, नेपाल समूह विजेता

कुशलको अर्को शतकीय कीर्तिमान, नेपाल समूह विजेता

  • बिहिबार, जेष्ठ २१, २०८३
सेयर गर्नुहोस् :
कुशलको अर्को शतकीय कीर्तिमान, नेपाल समूह विजेता

काठमाडौं — कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियालाई १६७ रनले पराजित गरेको छ । सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह ‘ए’ को विजेता बनेको हो ।

कुशलले १२६ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २७५ रन बनाएको थियो । जबाफमा आएको मलेसियाले ९ विकेट गुमाई १०८ रनमात्र बनाउन सक्यो ।

सिंगापुरमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले आइतबार चीनलाई २२१ रनले पराजित गरेको थियो । कुशलले सो खेलमा १२९ रन बनाएका थिए । कुशलले त्यसैलाई निरन्तरता दिँदै मलेसियाविरुद्ध अर्को शतकीय इनिङ्स खेलेका थिए ।

कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई खेलमा शतक बनाउने विश्वका दशौंं ब्याटर हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक बनाउने सुचिमा भारतका सञ्जु सामसन, इंग्ल्यान्डका फिल सल्ट, दक्षिण अफ्रिकाका रिली रोसोउ लगायतका खेलाडी छन् ।

आफ्नो इनिङ्सका क्रममा कुशल नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । कुशलले ७८ खेलमा २ हजार २४० रन बनाइसकेका छन् । उनले ९८ खेलमा २ हजार २११ रन बनाएका दीपेन्द्रसिंह ऐरीलाई उछिनेका हुन् । नेपालका वर्तमान ट्वान्टी–२० कप्तान दीपेन्द्र मलेसियासँग ११ बलमा ३१ रन बनाएर आउट भएका थिए ।

कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तीन शतक बनाउने नेपालको पहिलो खेलाडी पनि बनेका छन् । अघिल्लो खेलमा चीनविरुद्ध बाहेक कुशलले २०२२ मा ग्लोबल विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाएका थिए । नेपालबाट अन्य चार ब्याटरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १–१ अवसरमा शतक बनाएका छन् ।

कुशल र आसिफ शेख मिलेर ९ ओभरभित्र १३४ रन जोडेर नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । आसिफले २४ बल खेली ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रन बनाए । सन्दीप जोरा १४ बल खेली २ छक्का प्रहार गरी १५ रनमा आउट भए । दीपेन्द्रले ११ बल खेली १ चौका र ४ छक्का प्रहार गरे ।

लोकेश बम १०, रोहित पौडेल शुन्य, करण केसी ७ रनमा आउट भए । कुशल मल्ल ७ बलमा ९ रन बनाई अविजित रहे । मलेसियाबाट वीरनदिप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । विजय उन्नीले ३ ओभरमा ४० र सैयद अजिजले ४ ओभरमा ४१ रन खर्चेर २–२ विकेट लिए ।

८ ओभर भित्र ३८ रन बनाउदा ५ विकेट गुमाएको मलेसियाबाट कप्तान सैयद अजिजले ५४ रन बनाए । उनले ४५ बल खेली ६ चौका र २ छक्का प्रहार गरे । शर्विन मुनिएन्डीले १८, मोहम्मद एइमानले १३ रन बनाए । नेपालका शेर मल्लले ३ विकेट लिए । उनले ४ ओभरमा १४ रनमात्र खर्चे । सोमपाल कामी, करण, सन्दीप लामिछाने, दीपेन्द्र र कुशल मल्लले १–१ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार