• होमपेज
  • समाचार
  • माघ ४ पछि एमाले औपचारिक रूपमा चुनावमा होमिने

माघ ४ पछि एमाले औपचारिक रूपमा चुनावमा होमिने

  • बिहिबार, माघ २, २०८२
माघ ४ पछि एमाले औपचारिक रूपमा चुनावमा होमिने

नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने भएको छ । नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने बताए ।
‘माघ ४ गते काठमाडौँमा एमालेले विशेष जनप्रदर्शन गरेर चुनावमा होमिन्छ’, बस्नेतले भने, ‘खुल्ला सभाबाट एमाले निर्वाचनमा होमियो भन्ने सन्देश दिन खोजिरहेका छौँ ।’ उनले कतिपयले अझै पनि एमाले चुनावमा भाग लिन्छ र ? भनेर प्रश्न गरिरहेको भन्दै एमालेले चुनावमा भाग नलिने भनेर कहिल्यै पनि नभनेको बताए ।

‘अहिले चुनावको वातावरण छैन भन्ने मात्र हाम्रो कुरा हो’, बस्नेतले भने, ‘अहिले पनि प्रहरी प्रशासन र न्यायालयको मनोबल कमजोर छ ।’ प्रहरी घाइते रहेको, हतियार फिर्ता नभएको भए पनि राजनीतिक घटनाक्रम थप बढिरहेको बस्नेतको भनाइ छ ।

‘सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई नागरिक सरकार भनिरहेको छ । निकै ठुलो जनदबाब र रवि लामिछानेका कारण कुलमान घिसिङले राजीनामा दिए पनि अरू मन्त्रीहरूको चालामाला सुध्रिएको छैन’, बस्नेतले भने, ‘सरकारका अभिव्यक्तिहरू हेर्दा पुराना दल र नेता काम छैन, ठुला दलका कारण कार्यान्वयन गर्न सकिएन भन्ने भनाई रवि लामिछानेको पार्टीलाई बलियो बनाउने चालबाजी हो ।’

उनले लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गरे ।

उनले लामिछानेलाई उन्मुक्ति दिने निर्णय आउनुमा एमाले कांग्रेस विभाजन गर्ने षडयन्त्र स्वरुप गरिएको भन्दै कांग्रेस विभाजन राष्ट्रियता लोकतन्त्र समाप्त पारेर अन्तर्राष्ट्रिय चलखेल भित्र्याउने प्रयास भएको दाबी गरे ।

चर्चामा

सम्बन्धित समाचार