• होमपेज
  • समाचार
  • निर्वाचनमै मोडियो कांग्रेस विशेष महाधिवेशन, वार्ता पनि सँगसँगै

निर्वाचनमै मोडियो कांग्रेस विशेष महाधिवेशन, वार्ता पनि सँगसँगै

  • बुधबार, माघ १, २०८२
निर्वाचनमै मोडियो कांग्रेस विशेष महाधिवेशन, वार्ता पनि सँगसँगै

नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ । रातभरका विभिन्न चरणका वार्तापछि पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेको छ ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’

पोखरेलले मंगलवार बेलुकी नै विशेष महाधिवेशनस्थल स्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए । उनले संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएको उल्लेख गर्दै सो कुरा आफूहरूको लागि स्वीकार्य नरहेको बताए ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्द सत्र समापन गरिएको थियो । यसैबिच विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारीको खाकासमेत तयार गरिरहेको जनाइएको छ ।

बुधबार बिहान वार्ताको ढोका खुला राखिरहँदा निर्वाचनको नयाँ तालिका अनुसार प्रक्रिया पनि अगाडि बढ्ने छ । मनोनयन दर्ताका लागि बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मको समय थप गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार