
बाजुरा– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लामा निर्वाचन प्रहरी भर्ना खुला गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी/सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत निर्वाचन प्रहरी पदका लागि १०५० जनाको माग सहित सूचना प्रकाशन गरेको हो।
समितिका अनुसार निर्वाचन प्रहरी पदका लागि इच्छुक नेपाली नागरिकले मिति २०८२ पाैष २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन जिल्ला प्रहरी कार्यालय, बाजुरा वा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे.क्वा. बाजुराबाट प्राप्त गरी त्यहीँ बुझाउन सकिने जनाइएको छ।
सूचनाअनुसार आवेदन दिने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएका छन्। उमेर हद आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। पुरुष उम्मेदवारको हकमा न्यूनतम उचाइ ५ फिट ४ इन्च र तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ ५ फिट र तौल ४२ केजी तोकिएको छ।
यसअघि नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा सेवा गरी निवृत्त वा उपदान प्राप्त सुरक्षाकर्मी, अघिल्ला निर्वाचनमा निर्वाचन प्रहरी भई सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
छनोटमा परेका निर्वाचन प्रहरीलाई नियुक्ति मितिदेखि जम्मा ४० दिनको सेवा अवधि तोकिएको छ। निर्वाचन अवधिमा प्रतिदिन तलब भत्ता, खाना खर्च, पोसाक भत्ता तथा आवश्यक सेवा सुविधा नेपाल सरकारको नियमअनुसार उपलब्ध गराइने जनाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले योग्य र इच्छुक व्यक्तिहरूलाई समयमै आवेदन दिन समितिले आग्रह गरेको छ।
