शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ७ वटा मतदानस्थल थपिए

बाजुरामा ७ वटा मतदानस्थल थपिए

  • बुधबार, मंसिर १८, २०८२
बाजुरामा ७ वटा मतदानस्थल थपिए

बाजुरा—बाजुरामा ७ वटा मतदानस्थल थपिएका छन् । यहीँ मंसिर १४ गते निर्वाचन आयोगले जिल्लामा थप ७ वटा मतदानस्थल थप्ने निर्णय गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दामा नयाँ मतदानस्थल थपिएका हुन् । जसमा स्वामीकार्तिक खापर गाउँपालिका १ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फटाएर शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल स्थापना गरिएको छ । यस्तै, बुढीनन्दा नगरपालिका ३ मा मदनआश्रित आवि बड्डाला, हिमाली गाउँपालिका १ मा शुनन्दा आवि बाम, वडा नम्बर ५ कुलामष्टाजन आवि क्यिुरी र वडा नम्बर ६ खोलीकोट आवि पाडीमा नयाँ मतदानस्थल स्थापना भएको छ । जिल्ला निर्वाचन कार्यालयले यस अघि नयाँ मतदानस्थल स्थापना र स्थानान्तरणका लागि निर्वाचन आयोगलाई सिफारिस गरेको थियो ।

७ नयाँ मतदानस्थल थपिएसँगै जिल्ला भर ७७ वटा मतदानस्थल भएका छन् भने १ सय १२ वटा मतदान केन्द्र रहेका छन् ।

त्यस्तै जिल्लामा ६ वटा मतदानस्थललाई स्थानान्तरण गरिएको छ । बुढीनन्दा नगरपालिका ३ को सिराडी मतदानस्थलबाट कालीकामावि भुलेना, त्रिवेणी नगरपालिका ८ नवदुर्गा आवि झालगाउँबाट ढडाली स्वास्थ्य केन्द्रमा सारिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले जानकारी दिए । महतका अनुसार बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ को मतदानस्थल सम्वन्धित वडाको वडा कार्यालयमा सारिएको छ । यसअघि उक्त वडाका विभिन्न स्वास्थ्य संस्था, विद्यालय आदिमा मतदानस्थल रहेका थिए ।

आगामी निर्वाचनमा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन आयोगले देशभरका मतदानस्थलहरुमा पुनरावलोकन गरेको हो ।

यस्तै, चार गाउँपालिका र पाँच वटा नगरपालिका रहेको बाजुरामा हाल ८६ हजार ५ सय ५७ मतदाता संख्या रहेको छ । जसमा महिला ४१ हजार ९ सय २०, पुरुष ४४ हजार ५ सय ३५ र अन्य २ जना रहेका छन् ।

त्यसैगरी, जिल्लामा २०८२ असोज १० गतेदेखि यहीँ मंसिर ५ गतेसम्म एक हजार ५ सय १६ जना नयाँ मतदाता थपिएका छन् ।
सरकारले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो । निर्वाचन आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार