शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • जंगी अड्डामा प्रधानमन्त्री कार्कीकाे निर्देशन दललाई बिना अवरोध गतिविधि गर्ने वातावरण बनाउनु

जंगी अड्डामा प्रधानमन्त्री कार्कीकाे निर्देशन दललाई बिना अवरोध गतिविधि गर्ने वातावरण बनाउनु

  • शुक्रबार, मंसिर १३, २०८२
जंगी अड्डामा प्रधानमन्त्री  कार्कीकाे निर्देशन  दललाई बिना अवरोध गतिविधि गर्ने वातावरण बनाउनु

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्की जंगी अड्डा पुग्दा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।

साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु’, प्रधानमन्त्री कार्कीले नेपाली सेनालाई निर्देशन दिँदै भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन ।’

यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्नुपर्नेमा प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न नेपाली सेनालाई आग्रह गरिन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।

चर्चामा

सम्बन्धित समाचार