
बाजुरा—बाजुरामा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध भएको छ । आइतवार रातिदेखिको अविरल बर्षाका कारण लाइनमा समस्या आएपछि जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको हो ।
नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका अनुसार जिल्लामा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । अविरल बर्षाले साँफेबगर–मार्तडी ३३ के.भि. प्रसारण लाईनमा समस्या हुँदा दिनभर विद्युत अवरोध हुने जनाएको छ ।
अछाम र बाजुराको सिमाना इकृगार्ड नजिक विद्युत पोल ढलेर लाइनमा समस्या आएको र पुनः मर्मत गर्न समय लाग्ने बताइएको छ । वितरण केन्द्रका अनुसार आज दिनभर विद्युत सेवा अवरुद्ध हुने छ भने साँझ मात्रै सुचारु हुने भएको छ । अहिले सो ठाउँमा मर्मतका लागि प्राविधिकहरुको टोलि खटिएको जानकारी दिएको छ ।
जिल्लाभर विद्युत अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय सहित विभिन्न कार्यालयबाट प्रवाह हुने सेवाहरु प्रभावित भएका छन् ।
