शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • पछिल्लो समय बाजुरामा लागू पदार्थ सेवन तथा कारोबार बढ्दै

पछिल्लो समय बाजुरामा लागू पदार्थ सेवन तथा कारोबार बढ्दै

  • शनिबार, भदौ २८, २०८२
पछिल्लो समय बाजुरामा लागू पदार्थ सेवन तथा कारोबार बढ्दै

बाजुरा– बाजुरामा दिनप्रतिदिन लागुऔषध दुर्व्यसनीका घटना बढ्दै गएको पाइएको छ । दुर्गम पहाडी जिल्लाका युवाहरु पछिल्लो समय लागुऔषध दुर्व्यसनीमा फस्दै गएका हुन् । जिल्ला प्रहरी कार्यालय बाजुराको पछिल्लो तीन बर्षको तथ्यांकअनुसार लागु पदार्थ दुर्व्यसनीको आरोपमा पक्राउ परेर मुद्धा दर्ता भएका छन् । आर्थिक बर्ष २०८०।०८१ मा ३ वटा मुद्धा दर्ता भएको पाइएको छ । जसमा २०८१ वैशाख १९ गते बुढीगंगा नगरपालिकाको फालासैन बजारबाट ४ ग्राम ९७ मिलिग्राम ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै ०८१ असार १० गते जिल्ला कारागारमा आफन्तलाई भेट्न आएका दुई जनाले खाजाका लागि ल्याएको चाउचाउमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुको साथबाट २ ग्राम ७८ मिलिग्राम चरेश सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस्तै असार १४ गते बुढीगंगा नगरपालिकाको रिठ्ठा बजारमा लागुऔषध सेवन गरिरहेका दुई युवकलाई खैरो हेराइन र गाजासहित पक्राउ परेको थियो ।

त्यसैगरी, गत आर्थिक बर्षमा लागुऔषध दुर्व्यसनीको आरोपमा सदरमुकाम मार्तडीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेर मुद्धा चलाएको थियो । उनीहरुको साथबाट एक सय ग्राम बढी चरेश समेत बरामद गरेको हो । त्यस्तै, चालू आर्थिक बर्ष २०८२।०८३ को हालसम्म लागु पदार्थ दुर्व्यसनीको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । २०८२ भदौ १० गते सदरमुकाम मार्तडी बजारको एक घरमा लागु औषध सेवन गरिरहेको अवस्थामा प्रहरीको टोलीले युवकलाई रङ्गेहात पक्राउ गरेको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १ बस्ने अन्दाजी २५ बर्षका दिपेन्द्र घर्तीमगर र बाजुराको बडीमालिका नगरपालिका ९ बस्ने अन्दाजी २२ बर्षका लक्ष्मण विकलाई सेवन गरिहेको अवस्थामा २२० मिलिग्राम हेरोइन र २ ग्राम चरेश सहित नियन्त्रणमा लियो । अहिले दुवैजना विरुद्ध मुद्धा दर्ता गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देव बहादुर चौधरीका अनुसार युवाहरु लागुऔषध दुर्व्यसनीमा संलग्नका घटनाहरु बढ्दै गइरहेको बताएका छन् । उनले जिल्लाको सदरमुकाम मार्तडी र बुढीगंगाको बाम्का क्षेत्रमा लागुऔषध दुर्व्यसनीका घटना बढि हुने गरेको बताए । मुख्यतयाः चेतनाको अभाव, देखासिकी, अभिभावकको कमजोरी, पैसाको लोभ, साथीको खराब संगत लगायतका कारणले यस्ता घटनाहरु बढिरहेको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयले मार्तडी र बाम्का सहित विभिन्न ठाउँमा लागुऔषध दुर्व्यसनी न्युनिकरण सम्बन्धी समचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

उनले जिल्लामा लागुऔषध प्रयोग तथा कारोवारका घटनाहरु हुने गरेको भन्दै ती क्षेत्रमा अनुसन्धानका साथैं निग्रानी समेत बढाएको उनले बताए । लागुऔषध दुर्व्यसनी रोकथाम तथा न्युनिकरण गर्न स्थानीय सरकार, प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले समेत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । युवाहरु दिनप्रतिदिन लागुऔषध लतमा फस्दै गएपछि यसको निराकरण गर्न सबैले एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले समेत जोड दिएका छन् ।
लागुऔषधको कारोबार बढ्दो
पछिल्लो समय बाजुरा जिल्लामा लागुऔषध दुरुपयोग र अवैध कारोबार तीव्र गतिमा बढ्दै गएको देखिएको छ । भारतसँगको खुला सिमाना र नियमनकारी निकायको कमजोर नियन्त्रणका कारण यहाँ लागुऔषध सहजै भित्रिने गरेको पाइन्छ । यसले विशेषगरी जिल्लाका किशोर र युवा पुस्तालाई नराम्ररी प्रभावित बनाइरहेको छ ।

बाजुरा जिल्लाको भौगोलिक अवस्था र भारतसँगको सहज आवतजावतले लागुऔषध भित्र्याउने काम सरल बनेको पाईएको छ । सिमाना नजिकैका गाउँहरू हुँदै लागुऔषध भित्रिने र जिल्लाका बजारदेखि टाढा–टाढासम्म पुगोस् भन्ने उद्देश्यले तस्करहरू सक्रिय देखिन्छन् । जिल्लामा लागुऔषध प्रयोग गर्नेहरूको ठूलो हिस्सा १६ देखि ३० वर्ष उमेर समूहका युवामा केन्द्रित भएको तथ्यांकले देखाउँछ ।

विद्यालय र क्याम्पस पढ्ने विद्यार्थीमाझ समेत चरेस, गाँजा, ब्राउनसुगर प्रयोग बढ्दै गएको प्रहरीको तथ्याकंमा उल्लेख छ । सुरुवाती चरणमा साथीहरूको साथ, कौतुहल र मनोरञ्जनका लागि प्रयोग गर्ने युवाहरू पछि लतमा परिणत हुँदै हिंसा, चोरी, घरायसी कलह जस्ता समस्यामा संलग्न हुने गरेको भेटिने गरेको पाईन्छ ।

प्रहरीले विद्यालय, समुदाय र युवा समूहलाई लक्षित गर्दै सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, अभिभावक र स्थानीय सरकारको सक्रियता बिना मात्र प्रहरीको प्रयास पर्याप्त नभएको जनाएको छ । लागुऔषधको सेवनले परिवारभित्र तनाव, झगडा र आर्थिक संकट बढाएको स्थानीय बासिन्दाको अनुभव छ । समाजमा बढ्दो चोरी, आपसी हिंसा र असुरक्षा पनि यसैसँग जोडिएको छ । बालबालिकाको भविष्यमा नकारात्मक असर पर्ने चिन्ता शिक्षक र अभिभावकले व्यक्त गरेका छन् ।

विशेषज्ञहरूका अनुसार लागुऔषध नियन्त्रणका लागि केवल प्रहरीको निगरानीले मात्र सम्भव हुँदैन । जिल्लामा रोजगारी सिर्जना, युवाहरूलाई खेलकुद र सिर्जनात्मक गतिविधिमा जोड्ने नीति, विद्यालयस्तरमै नियमित सचेतना अभियान र सीमामा कडाइ आवश्यक रहेको बताउछन ।बाजुरामा लागुऔषधको कारोबार बढ्दै जानु केवल कानुनी चुनौती मात्र नभई सामाजिक संकटका रूपमा देखिन थालेको छ ।

यसलाई नियन्त्रण गर्न राज्यका सबै तह, स्थानीय सरकार, प्रहरी, विद्यालय, अभिभावक र युवाहरू नै सक्रिय भएर अघि नबढेसम्म समस्या अझ जटिल बन्न सक्ने प्रष्ट देखिन्छ । युवापुस्ताको भविष्य सुरक्षित गर्न दीर्घकालीन र प्रभावकारी रणनीति तत्काल आवश्यक देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार