
काठमाडौं— जेन—जी आन्दोलनको दोस्रो दिन विभिन्न कारागारबाट भागेका फरार कैदीबन्दीहरू धमाधम पक्राउ परिरहेका छन् । कोही आफैं प्रहरीको सम्पर्कमा आएका छन् भने केही अभियुक्तलाई प्रहरी टोलीले पक्राउ गरिरहेको छ । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार प्रहरी प्रधान कार्यालयले सूचना नै जारी गरेर फरार अभियुक्तलाई प्रहरी कार्यालयमा सम्पर्कमा आउन आग्रह गरेको छ ।
नक्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टक्ला (साह) काभ्रेको मंगलटारमा पक्राउ परेका छन् । उनीसहित नक्खुबाट भाग्ने १७ जना पुनः पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्की नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । जनकपुर बम काण्डमा दोषी ठहर भएका टकलामाथि सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या र अकुत सम्पत्तिको मुद्दा पनि छ ।
देशैभरका विभिन्न कारागारबाट भागेका १ हजार ४ सय ५५ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । मंगलबार र बुधबार देशका विभिन्न कारागार तोडफोड गरी भागेका उनीहरूमध्ये कतिपयलाई भारतीय नाकामा भारतीय प्रहरीले समेत पक्राउ गरेको थियो । देशभरका विभिन्न कारागारबाट १४ हजार बढी कैदीबन्दी र थुनुवा भागेका थिए । फरार रहेकामध्ये ठूलो संख्यामा हत्या, बलात्कार, अपहरण, मानव बेचबिखनजस्ता जघन्य अपराधका कैदीबन्दी छन् ।
कारागारबाट भागेका कैदीबन्दीमध्ये १४ सय ५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ परेकाहरूलाई सम्बन्धित जेलमा पठाउने काम भइरहेको बताए । पक्राउ परेका र आफैं फर्केकाबाहेक अझै पनि हजारौंको संख्यामा कैदीबन्दी खुलेआम हिँडिरहेका छन् ।
कुन कारागारबाट कति जना फरार भए ?
नक्खु कारागारबाट मात्रै १ हजार ४ सय कैदी बन्दी फरार रहेका छन् । सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि ३ हजार ३ सय कैदीबन्दी निस्केका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि यहीबाट भागेका थिए । रौतहटको गौर कारागारबाट २ सय ६० कैदी भागेका थिए । यीमध्ये १३ जना भारतीय सीमा नाकाबाट पक्राउ परेका छन् । कास्की कारागारबाट ७ सय ७३ कैदीबन्दी भागेका थिए । जसमा १३ भारतीयसहित ४ जना विदेशी पनि फरार छन् । चितवन कारागारबाट ७ सय कैदीबन्दी भागेका थिए । महोत्तरीको जलेश्वर कारागारमा रहेका ५ सय ७५ कैदीबन्दी फरार छन् । कपिलवस्तु कारागारबाट ४ सय ५९ जना फरार छन् भने ७४ जना नियन्त्रणमा । पर्वत कारागारबाट १९ जना फरार छन् ।
कैलाली कारागारबाट ६ सय १२ जना कैदीबन्दी भागेका थिए भने डडेलधुरा कारागारबाट ८५ कैदीबन्दी भागेका छन् । रुकुमपश्चिम कारागारबाट ८८, दाङ तुलसीपुर कारागारबाट १ सय २४ जना भागेका छन् । सुनसरीको झुम्का कारागारबाट मंगलबार राति १ हजार ५ सय ७५ जना कैदीबन्दी फरार भएका छन् । सोलुखुम्बु कारागारबाट ८६ कैदीबन्दी फरार भएका छन् । मकवानपुरको भीमफेदी कारागारबाट २ सय ६० जना, सिन्धुली कारागारबाट ५ सय कैदीबन्दी फरार भएका छन् । बाँके कारागारबाट ४ सय ३६ जना फरार छन् । रुकुमपश्चिम कारागारबाट ८८ जना भागेका छन् । जुम्लाको चन्दननाथ–६ स्थित कारागारबाट ३६ कैदीबन्दी भागेका थिए ।
कागारगार तोडफोड र आगजनी गर्ने क्रममा धादिङ र रामेछापमा गोली चलेको छ । बुधबार धादिङ कारागारमा कैदीबन्दी भाग्ने क्रममा सेनाले नियन्त्रणमा लिन गोली चलाएको थियो । यसक्रममा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । बिहीबार बिहान रामेछाप कारागारमा पनि सेनाले गोली चलाएर भाग्न खोज्ने कैदीबन्दीलाई नियन्त्रणमा लिएको थियो । घटनामा २ कैदीबन्दीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
