
काठमाडौं— एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् ।
गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन उनी फरक मत वाचनका लागि मञ्चअघि उभिएका थिए । स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापालाई फरक मत पढ्न दिने कार्यसूची हिजै तय भएको थियो । उनको प्रतिवेदन प्रतिनिधिलाई बाँड्न दिन पनि नेतृत्व तयार भएको थियो ।
सोहीअनुसार थापा फरक मत पढ्न तयार भए । तर, अध्यक्ष ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका छन् । विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए ।
अध्यक्ष ओलीले प्रतिनवेदनहरूमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्नुस् भनेका छन् । थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने समूहमा कुरा राख्न सक्ने बताए । ‘उहाँलाई समूहमा कुरा राख्नुहोस् भनिएको छ । छलफलमा रोक लगाइएको छैन’ गौतमले भने ।
थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राखेका छन् ।
बिहीबार साँझको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए । उनलाई उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि साथ दिएका छन् ।
