
बाजुरा– आज अन्तर्राष्ट्रिय युवा दिवस बाजुरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । “दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागीता समृद्धिको आधार” भन्ने मूल नाराका साथ दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम गर्दै भव्यका साथ दिवस मनाइएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय युवा दिवस सदरमुकाम मार्तडीमा पनि मनाइएको छ । बडीमालिका नगर स्तरीय युवा सञ्जाल तथा नगरपालिकाको आयोजना र मानव संशाधन केन्द्र-HRC, गिफ्ट नेपाल, पिसविन लगायतका गैरसरकारी संस्थाहरुको सहयोग र साझेदारीमा दिवस मनाइएको जनाएको छ ।

बडीमालिका नगर स्तरीय युवा सञ्जालका अध्यक्ष सन्तोष विकले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा पालिकामा अन्तरक्रियात्मक कार्यक्रम गरिएको बताएका छन् । उनले एक औपचारिक कार्यक्रमविच विभिन्न सफल तथा मिहिनेती युवा तथा विभिन्न क्षेत्रमा प्रख्यात व्यक्तित्वहरुको अनुभव तथा सुझाव सल्लाह प्रस्तुत गर्दै दिवस मनाइएको जानकारी दिए ।

उक्त कार्यक्रममा सफल युवा तथा व्यवसायी गंगराज पण्डित, बाजुराका क्याम्पसका प्रशासन शाखा प्रमुख मदनराज जैशी र मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय सहितले आफ्नो जीवनका अनुभव तथा सुझाव पोख्दै सहजीकरण गरेका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक नेत्र बिक्रम साउँदले लागूऔषध दुर्व्यसन तथा विद्युतीय अपराध सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनले बर्तमान युवा समुदाय विभिन्न विसङ्गति र कुलतमा फस्दै गएको भन्दै यसबाट बचेर सफल र व्यवसायीक जीवन बनाउन युवाहरुले लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले युवाहरु देशका मेरुदण्ड भएको भन्दै लगनशील र मिहिनेतीका साथ उद्यमी र सामाजिक कामतर्फ अग्रसर बन्नुपर्ने बताएकी छन् । उनले युवाहरुले नैतिकवान् र चरित्रवान बनेर कुलतबाट बच्दै सीपमूलक सीप सिक्ने र लगानीअनुसार प्रतिफल देखाउनु पर्ने बताइन् ।

कार्यक्रम सहजीकरण गर्ने वक्ताहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो भने सहभागीहरुले समावेशी युवा नेतृत्वलाई समर्थन र समावेशी वातावरण निर्माण गर्ने साझा प्रतिवद्धता सहित हस्ताक्षर गरेका थिए ।

बडीमालिका नगर स्तरीय युवा सञ्जालका अध्यक्ष सन्तोष विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख नन्दा कुमारी थापा रहेकी थिइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय, वडा अध्यक्ष, कर्मचारी लगायत करिब ५० जना बढी युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बडीमालिका नगर स्तरीय युवा सञ्जालका सचिव बिरेन्द्र रावलले गरेका हुन् ।
