शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • कोदोको उत्पादन र प्रवर्द्वनमा जोड दिदैँ बाजुरामा पनि मनाइयो दिवस

कोदोको उत्पादन र प्रवर्द्वनमा जोड दिदैँ बाजुरामा पनि मनाइयो दिवस

  • शुक्रबार, साउन १७, २०८२
कोदोको उत्पादन र प्रवर्द्वनमा जोड दिदैँ बाजुरामा पनि मनाइयो दिवस

बाजुरा– प्रथम राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गर्दै बाजुरामा पनि मनाइएको छ । जिल्लाका ९ वटै पालिकाहरुले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका विभिन्न कार्यक्रम गर्दै दिवस मनाएका हुन् ।

सरकारले २०८२ असार २३ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार हरेक बर्ष साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेको थियो ।

स्थानीय तहरुले दिवस मनाउँदै जिल्लाका प्रायः सबै ठाउँमा उत्पादन हुने कोदो उत्पादन घट्दै गएको भन्दै यसको उत्पादनमा वृद्धि र प्रवर्द्वन गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् । जिल्लाका स्थानीय पालिकाहरु सरकारले कोदोलाई राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरेसँगै रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धनमा जुटेका छन् ।
May be an image of 10 people and text

May be an image of 10 people and text

May be an image of 13 people and text

त्यस्तै बाजुराको सदरमुकाम स्थित बडीमालिका नगरपालिकाले पनि राष्ट्रिय कोदो दिवस भव्य रुपमा मनाएको छ । पालिकाले मालिका माविमा कोदो दिवसको अवसरमा खुला वक्तृत्वकला प्रतियोगीता कार्यक्रम गरेको जनाएको छ । रैथाने बालीका रुपमा रहेको कोदोको उत्पादन, संरक्षण र प्रवर्द्वन गर्ने उदेश्यले  ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने  नाराका साथ  विद्यार्थीहरुविच वक्तृत्वकला प्रतियोगीता सञ्चालन गरेको नगरपालिकाका कृषि विकास शाखाका रमेश विकले बताए । मालिका माविका प्रधानाध्यापक शुभराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै, जिल्लाको बडीमािलका नगरपालिका स्थानीय तहबाट कोदो दिवस मनाउन देशकै पहिलो पालिका भएको नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन् । बडीमालिका नगरपालिको आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा रैथाने बाली कोदोलाई प्राथमिकता दिदैँ मंसिर १ गतेलाई कोदो दिवस मनाउँदै आएको छ । नगर प्रमुख खड्काले बडीमालिकाले दिवसलाई संघ सरकारले पनि साउन १६ लाई राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरेको भन्दै यसले पोषण, खाद्य सुरक्षा तथा कृषि विविधिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाले विगत केही बर्ष देखि रैथाले बालीको संरक्षण गर्न विभिन्न कार्यक्रमसँगै विद्यालय दिवा खाजामा समेत कोदोजन्य परिकार समावेश गरेको छ । त्यसैगरी, गत आर्थिक बर्ष २०८१।८२ मा जिल्लाबाट करिब ५० लाखको कोदो बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लामा ५ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा करिब ६ हजार मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ । जिल्लामा पछिल्लो समय कोदो उत्पादन दिनप्रतिदिन घट्दै गएको छ भने यसको महत्व बढ्दै जाँदा करोडौंको कोदो जिल्लाबाट ठूलाठूला सहरमा निर्यात हुदैँ आएको छ ।

पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको रैथाने बाली कोदोको उत्पादन घटदै गएपनि यसको महत्व भने बढ्दै जान थालेको छ । स्वास्थ्यका लागि बहुुपोषण एवं औषधीयजन्य गुण रहेको कोदोको माग बढ्दो रहे पनि त्यस अनुुसार उत्पादन भने हुन सकेको छैन । कृषिको राष्ट्रिय तथ्याङ्कअनुुसार धान, मकै, गहुँ पछि चौथो बढी उत्पादन हुने अन्नमा कोदो बाली पर्दछ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्वमा वृद्धि तथा यसको प्रवर्द्वन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार