
काठमाडौँ— नेपाली कांग्रेसले पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेस अनुशासन अनुशासन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै कैलालीमा २ जना, डोल्पामा १० जना, सल्यानमा ११ जना, दैलेखमा १ जना, खोटाङ्गमा १ जना र धनुषामा १ जना समेत गरी जम्मा २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउने निर्णय भएको जानकारी गराएको हो ।
समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले प्राप्त अन्य अनुशासन कारबाही सम्बन्धित उजुरीहरू छानबिन कै क्रममा रहेको बताए । यसका साथै २०७९ मा सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारका विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थक स्वतः निष्कासनमा परेका थिए ।
तर उनीहरूले तोकिएको प्रक्रिया पुर्याई आफूहरू उपर हुने कारबाही फुकुवाको लागि पुनरावेदन दिएको ढुंगानाले बताए । उनले कोशी प्रदेशबाट १७ जना, मधेस प्रदेशबाट २३ जना, बागमती प्रदेशबाट ४ जना, गण्डकी प्रदेशबाट ३ जना, लुम्बिनी प्रदेशबाट ३६ जना, कर्णाली प्रदेशबाट ४ जना र सुदूरपश्चिम प्रदेशबाट १ जना समेत गरी जम्मा ८८ जनाको त्यस्ता निवेदनहरू प्राप्त भएको बताए ।
ती निवेदनहरू आवश्यक निर्णयका लागि केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको उनको भनाइ छ । बुधवार मात्रै कांग्रेसले चुनावमा अन्तर्घात गर्ने २३ जनालाई कारबाहीको निर्णय गरेको थियो ।
