बाजुरा—यहीँ चैत्र २७ गते हुने सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि बाजुरामा ४ विद्यार्थी संगठनहरुले संगठन दर्ता गराएका छन् । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक बाजुरा क्याम्पस र बडीमालिका क्याम्पसमा ४ वटा विद्यार्थी संगठनहरुले भव्यताका साथ संगठन दर्ता गरेका हुन् ।
जिल्ला सदरमुकाम मार्तडी स्थित बाजुरा क्याम्पसमा ४ विद्यार्थी संगठनले दर्ता गराएको निर्वाचन समिति संयोजक सुरेश प्रसाद पण्डितले जानकारी दिएका छन् । उनका अनुसार बाजुरा क्याम्पसमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू, नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियू र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले संगठन दर्ता गराएका छन् ।
त्यस्तै जिल्लाको तल्लो क्षेत्र फालासैनमा रहेको बडीमालिका क्याम्पसमा तीन संगठन नेकपा एमाले निकट अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीले संगठन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सो क्याम्पसमा पहिलो संगठनका रुपमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले भव्यताका साथ संगठन दर्ता गराएको विद्यार्थी नेता पारस रावलले जानकारी दिए ।
स्ववियु निर्वाचन तालिका अनुसार चैत्र १२ गते अर्थात आजका लागि तोकिएको संगठन दर्ताको समयानुसार दुवै क्याम्पसमा विद्यार्थी संगठनहरुले उत्साहका साथ दर्ता गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पहिलो दिन आज संगठन दर्ताको समय दिउँसो ३ बजेसम्म तोकिएको थियो ।