
अछाम– डोटी भूकम्पबाट प्रभावितहरुका घर पुनःनिर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मंगलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनःनिर्माणका लागि सम्झौता भएसँगै काम सुरु भएको हाे ।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःर्स्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम कामीको घर पुनःनिर्माणका लागि मङ्गलसेन नगरपालिका–५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि ४ लाख खर्च हुने र उक्त रकम स्थानीय तहबाट भुक्तानी हुने जनाइएको छ ।
प्रजिअ लम्सालका अनुसार भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनःनिर्माणका लागि रु चार लाख, आंशिक क्षतिको हकमा रु एक लाख र सामान्य क्षति भएकालाई रु ५० हजार अनुदान उपलब्ध गराइने छ ।
विसं २०७९ कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको भूकम्पका कारण जिल्लाका १० स्थानीय तहका पाँच हजार पाँच सय ४० घर प्रभावित भएका थिए ।
