• होमपेज
  • राजनीति
  • संघले अनुमति नदिए प्रदेश राजधानीको विकल्प खोज्छौं : मुख्यमन्त्री शाह

संघले अनुमति नदिए प्रदेश राजधानीको विकल्प खोज्छौं : मुख्यमन्त्री शाह

  • मङ्लबार, कार्तिक २७, २०८१
संघले अनुमति नदिए प्रदेश राजधानीको विकल्प खोज्छौं : मुख्यमन्त्री शाह

धनगढी— सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रक्रियागत अनुमति नदिएमा प्रदेश राजधानीको विकल्प खोजिने बताएका छन् । मंगलबार प्रदेश सरकार १०० दिन पुगेको अवसरमा भएका कार्य प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले प्रदेश राजधानी घोषणा भएको लामो समयसम्म कार्यान्वयन हुन नसकेकाले विकल्प खोजिने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सुदूरपश्चिमको राजधानी निर्माणका सम्बन्धमा के–के काम भए भनेर सोधिएको जानकारी दिए । प्रधानमन्त्रीलाई लिखित रूपमै राजधानीका हकमा भएका प्रक्रियागत कामबारे जानकारी लिइने बताउँदै शाहले अन्य विकल्पमा जान दिन समेत आग्रह गरिएको उल्लेख गरे ।

‘मैले प्रधानमन्त्री ज्यूलाई लिखित रूपमै प्रदेश राजधानीको हकमा प्रक्रिया के–के भएको छ भनेर सोधेको छु’ शाहले भने, ‘अहिले तोकिएको राजधानी निर्माण गर्न संघले अनुमति दिएन भने पनि विकल्पमा जान दिनुपर्छ, सबै विकल्प खुल्ला गर्नुपर्छ भनेको छु ।’

शाहले प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेश राजधानीको विकल्पबारे छलफल अघि बढ्न सक्ने बताएका छन् । १२ असोज २०७६ मा तत्कालीन प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी र नाम सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने तेघरी जंगलमा तोकेपछि त्यतिबेला प्रतिपक्षमा रहेका नेपाली कांग्रेस लगायतका दलले विरोध जनाएका थिए ।

तर संघ सरकारले जग्गाको भोगाधिकार प्रदेश सरकारलाई दिन नमान्दा राजधानी घोषणा भएको लामो बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । राजधानी निर्माणका लागि भन्दै प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार