कैलालीमा जुवा र कौडा खेलेको आरोपमा २८ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए ।
उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहोराले बताए । यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ ।
गौरीगंगा नगरपालिका-१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डीएसपी बोहोराले बताए ।
उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रूपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।