शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेशका चार मन्त्रालय वेबसाइट विहीन

सुदूरपश्चिम प्रदेशका चार मन्त्रालय वेबसाइट विहीन

  • शनिबार, कार्तिक १७, २०८१
सुदूरपश्चिम प्रदेशका चार मन्त्रालय वेबसाइट विहीन

धनगढी— सुदूरपश्चिम सरकारका चार मन्त्रालयहरू आधिकारिक वेबसाइट विहीन भएका छन। प्रदेशका मन्त्रालयहरूले अहिलेसम्म पुरानो वेबसाइट नबनाउँदा सरकारले गर्ने कामकारबाहीको जानकारी सर्वसाधारणले थाहा नपाउने अवस्था बनेको छ।

विश्व परिवेश नै डिजिटल बनेको अहिलेको समयमा सुदूरपश्चिमका मन्त्रालय भने वेबसाइट विहीन बनेका हुन्। मुख्यमन्त्री कार्यालय र आर्थिक मामिला मन्त्रालयले पुरानो वेबसाइट मध्यावधिक गरेका छन। प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र प्रदेश सभा सचिवालयले नयाँ वेबसाइट बनाएका छन्। तर, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आधिकारिक वेबसाइट छैन। यी चार मन्त्रालय पाँच महिनादेखि वेबसाइट विहीन भएका हुन्।

प्रदेशका मन्त्रालयहरूसँग अन्य कार्यालयहरूका पनि आधिकारिक वेबसाइटहरू छैनन। प्रदेश सरकार मातहतको प्रदेश लेखा नियन्त्रणको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश नीति तथा योजना आयोगको कार्यालय लगायतको वेबसाइटसमेत मध्यावधिक गरिएको छैन्।

सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्रालय बाहेकका पाँच मन्त्रालयले कात्तिक १४ गते कर्मचारीहरूको सरुवा गरे। सरुवाको निर्णय सदर हुनासाथ त्यसको विवरण मन्त्रालयहरूले आफ्नो आधिकारिक वेबसाइटमा राख्नुपर्ने हो।

तर, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सरुवाको विवरण वेबसाइट मार्फत सार्वजनिक गर्न सकेनन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको वेबसाइटमा सरुवाको सूचना सार्वजनिक गरेको छ। अन्य मन्त्रालयहरूले सरुवा गरेको निर्णय अझै सार्वजनिक गरेका छैनन। सुशासनका लागि सरकारी सूचनामा सर्वसाधारणको सहज पहुँच हुनुपर्नेमा सुशासन दिन प्रतिबद्धता मात्रै जनाउने प्रदेश सरकारसँग मन्त्रालयका वेबसाइट चलाउने क्षमता समेत छैन। मन्त्रालयका आधिकारिक वेबसाइट नभएको मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत थाहा छैन। उनले वेबसाइट नभएको विषयमा मन्त्री र सचिवसँग बुझ्ने बताएका छन्।

सरकारका निर्णय, दस्ताबेज र सूचना हरेक सरकारी कार्यालयले वेबसाइटमा राख्नुपर्ने हुन्छ। मन्त्रालयले मन्त्री, राज्यमन्त्री, सचिव, प्रवक्ता र सूचना अधिकारीको नाम, फोटो र सम्पर्क नम्बर वेबसाइटमा राख्नुपर्छ। तर, वेबसाइट नहुँदा मन्त्रालयले आफ्नै बारेमा समेत सर्वसाधारणलाई जानकारी दिन सकेका छैनन्। मन्त्रालयसँग सम्बन्धित विषयमा आधिकारिक जानकारी पाउन समेत समस्या भएको छ।

दिनेश खबरबाट 

चर्चामा

सम्बन्धित समाचार