• होमपेज
  • समाज
  • दशैंका बेला देशभर ६० हजार प्रहरी परिचालन

दशैंका बेला देशभर ६० हजार प्रहरी परिचालन

  • मङ्लबार, अशोज २२, २०८१
दशैंका बेला देशभर ६० हजार प्रहरी परिचालन

हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ । ७९ हजार ५४१ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले करिब ४ हजार दरबन्दी रिक्त छ । जसमध्ये देशभर दशैं सुरक्षाका लागि भनेर ६० हजार प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए ।

‘अति आवश्यक काम बाहेकका प्रहरी कर्मचारीलाई यो पटक दशैंमा बिदा छाडिएको छैन । सकेसम्म सुरक्षित दशैं बनाउने योजना प्रहरी प्रधान कार्यालयको छ । सोही अनुसार जनशक्ति परिचालन गरेका छौं’, उनले भने । बाढी पहिरोबाट क्षति भएका जिल्लाहरुमा कार्यरत प्रहरी कर्मचारीलाई राहत, पुनर्स्थापनालगायतको काम बाँकी नै रहेकाले अहिले अति आवश्यक बाहेकहरुलाई बिदा छाडिएको छैन ।

६० हजार प्रहरीमध्ये केही प्रहरी भने सादा पोशाकमा सूचना संकलनका रुपमा खटिएका छन् । उनीहरुले अपराध हुने वा हुनसक्ने स्थानहरुमा खटिएर सूचना संकलनको कामदेखि अपराध भइहालेमा अनुसन्धानको काममा समेत खटिने छन् ।

देशभरका ७७ जिल्लामा परिचालन भएका ६० हजार प्रहरीले जनताको जिउधनको सुरक्षा गर्नुका साथै केही भइहालेमा जतिसक्दो चाँडो घटनास्थल पुग्ने व्यवस्था समेत मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त पारिएकाले ढुक्क भएर दशैं मनाउने अवस्था रहेको डीआईजी कार्कीको भनाइ छ ।

उपत्यकामा १० हजार प्रहरी परिचालन

दशैं सुरक्षा योजना अनुसार नै काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै १० हजार प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत पर्ने यी तीन जिल्लाहरुमा १० हजार जनशक्ति परिचालन गरिएको छ । मान्छेको अत्यधिक चाप र दशैं मनाउन गाउँ जाँदा घर र कोठा रत्तो हुने हुँदा चोरी बढ्न सक्ने भन्दै तीन जिल्लामा थप जनशक्ति परिचालन गरिएको छ ।

काठमाडौंमा मात्रै दशैंमा हुनसक्ने अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको छ । दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्तीको व्यवस्था मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी प्रवक्ता नवराज अधिकारीले बताए ।

७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको छ । सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ । नाकाहरुमा हरेक दिन अपराध अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले जिल्लाका १८३ स्थानमा एक सिफ्टमा १००८ जना प्रहरी एकसाथ परिचलान गरेर ड्युटीमा खटाएको छ । भक्तपुरले पनि यसैगरी दशैं सुरक्षा योजना बनाएर लागु गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा केही घटना भइहालेमा ५ देखि १० मिनेटभित्र प्रहरी पुग्ने व्यवस्था मिलाइएको छ ।

दशैंमा हुनसक्ने सम्भावित अपराध

प्रहरीले दशैंका बेला चोरी, डकैती, कुटपिट जुवातास, मदिरा सेवन गरी झैझगडा हुने जस्ता घटना हुने अनुमान गरेको छ । शहरी इलाकाहरुमा चोरी बढ्न सक्ने प्रहरीको आँकलन छ । दशैं मनाउन धेरै मानिस घर तथा कोठामा ढोका लगाएर गाउँ फर्कने हुनाले शहरमा चोरी बढ्न सक्ने प्रहरीको अनुमान छ ।

त्यसैगरी लुटपाट तथा कुटपिट, स्न्याचिङ, डकैतीजस्ता अपराधहरु पनि बढ्न सक्ने आँकलन प्रहरीको छ । सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, ड्रिंक एन्ड ड्राइभ, हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा हुन सक्ने भन्दै सोही अनुसार सुरक्षा रणनीति बनाइएको छ ।

त्यस्तै महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरुमा हुने चोरीलाई प्रहरीले सम्भावित अपराध मानेको छ । यस्ता प्रकृतिका अपराहरु नियन्त्रण गर्नका लागि देशभर ६० हजार प्रहरी परिचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार