• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

  • शनिबार, फाल्गुन २६, २०८०
सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

बुटवल— नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरु फिर्ता नहुने बताएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएकी थिइन् । तर नेता चौधरीले शुक्रबार राति मन्त्री बनेका सांसदहरु सरकारबाट फिर्ता नहुने बताएका हुन् ।

शनिबार बुटवल आएका नेता चौधरीले पत्रकारहरुसँग बोल्दै पार्टीभित्र अध्यक्ष श्रेष्ठ र आफूबीच कुनै असमझदारी नरहेको तर मन्त्रीहरु फिर्ता नहुने जिकिर गरे ।

शुक्रबार राति मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरुले शुक्रबार राति नै शपथ लिएका थिए ।

लुम्बिनी प्रदेशमा पनि सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताएका चौधरीले सरकारमा थप एकजनालाई राज्यमन्त्री पठाउने विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसंग शनिबार छलफल गर्ने बताएका छन् ।

चौधरीले निर्वाचन आयोगले आफूलाई पार्टी अध्यक्षमा निर्वाचित भएको मान्यता नदिएको विषयमा आयोगको निर्णय हेरेर मात्रै धारणा दिने बताए । उनले महाधिवेशनले गरेको सर्वसम्मत निर्णय आयोगले मान्नुपर्ने तर्क गरे ।

चौधरीले वर्तमान गठबन्धन सरकारको आयुका बारेमा केही भन्न नसकिने बताए । कांग्रेस, एमाले र माओवादी तीनवटै ठूला दल सत्ताको फोहोरी खेलमा लिप्त भएको चौधरीको आरोप छ ।

उनले सांसद भएपछि सबैलाई मन्त्री बन्ने महत्वाकांक्षाले पनि राजनीति बिगारेको तर्क गरे । मन्त्री बन्नका लागि निश्चित योग्यता र मापदण्ड कानुनमै किटान गर्नुपर्ने उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार