बझाङ —बझाङमा एक गर्भवती महिलाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका ६ सिङराल्लीकी ३५ वर्षीय गौबडी धामी रहेकी छन् ।
उनको बिगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र उच्च रक्तश्रावका कारण शनिबार दिउँसो जिल्ला अस्पताल बझाङमा मृत्यु भएको अस्पताल स्रोतले जनाएकाे छ । रगत दिएर आइसियुमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बताइएको छ ।
उनमा उच्च रक्तचाप भएकाले घरबाटै समस्या लिएर रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा ल्याइएकाे तर त्याँहा सम्भव नभएपछि जिल्ला अस्पताल रेफर गरेको केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाश बलायर बताए ।
बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो । गाउँघरमा स्वास्थ्य सस्था टाढा हुनु, परिवारकाे लापरवाही र नियमित गर्भ जाँच नगराउँदा बच्चा र आमा दुबैको ज्यान जाने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन ।