
काठमाडौँ— सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो ।
चार दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधारशिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसकेका छन् ।आइतबार नेपाल आइपुगेका उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख राष्ट्रियसभाका अध्यक्षलगायत राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरिसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राखेका छन् ।


