मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • देश
  • शरणार्थी नेता रिजाल र सागर राईबीच कनेक्सन

शरणार्थी नेता रिजाल र सागर राईबीच कनेक्सन

  • शनिबार, जेष्ठ ६, २०८०
शरणार्थी नेता रिजाल र सागर राईबीच कनेक्सन

काठमाडौँ — भुटानी नेल्सन मन्डेला भनेर चिनिने शरणार्थी नेता टेकनाथ रिजाल बिहीबारदेखि प्रहरीको हिरासतमा छन् । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने गिरासँग मिलेमतो देखिएको आरोपमा प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ । भुटानको थिम्पुमा निडर र निष्ठावान् भनेर चिनिएका रिजाल शरणार्थी बनाइएपछि नेपालमा छन् । भुटानमा राजकीय ओहदा पाएका रिजालले चिराङबाट चुनाव जितेर संसदमा पुगेका थिए । भुटानमा भ्रष्टाचार छानबिन गर्ने अधिकार सम्पन्न आयोगमा पदाधिकारी भएर काम गरेका रिजाल अहिले ‘शरणार्थीको नाममा ठगी’ आरोप खेप्न बाध्य छन् ।
शरणार्थीको नाममा ठग्ने गिरोहका सदस्य सागर राई चैत १० मा ललितपुरको बालकुमारीबाट पक्राउ परेका थिए । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० का निवर्तमान वडा अध्यक्ष राईको बयानका आधारमा रिजालमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसामध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

सागर राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधि समेत हुन् । मोरङ र झापाका शरणार्थी शिविरमा आउजाउ गर्दा सागर र टेकनाथबीच चिनजान भयो । सङ्गठित ठगीमा टेकनाथको पनि भूमिका देखिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘लेनदेन र गिरोहलाई प्रशय दिने भूमिका रिजालको पनि देखिन्छ ।’ शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र तत्कालीन गृह–सचिव टेकनारायण पाण्डेसहित १६ जना थुनामा छन् । प्रहरीले आरोपीहरुविरुद्ध प्रहरीले सङ्गठित ठगीसहित ३ वटा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार