काठमाडौं – राष्ट्रपतिको निर्वाचनअघि नै वाम गठबन्धन बनाउनेगरि नेताहरुले गृहकार्य थालेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसको लागि कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । पुष १० गते एमाले, माओवादीसहितको गठबन्धन बनेको र उक्त गठबन्धनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए ।
२६ पुषमा प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिँदा भने कांग्रेससहितका दलको मत पाएपछि भने पुष १० गतेको गठबन्धनमा समस्या आएको थियो । त्यसको असर फागुन १३ गते भएको राष्ट्रपतिको निर्वाचनको उम्मेदवारी दर्ता गर्दा देखियो ।
माओवादी केन्द्रले कांग्रेसका वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेम्वाङको जित सुनिश्चित् रहेको दाबी गरेका छन् । ओलीले हिजोबाट राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । हिजोमात्रै उनले पूर्व एमाले नेता वामदेव गौतमसँग यसबारेमा छलफल गरेका हुन् । सो भेटमा ओलीले नेम्वाङको पक्षमा मत मागेका थिए । र, एमालेमा फर्कन गौतमलाई आग्रह गरेका थिए ।
नेम्वाङले आजमात्रै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर भोट मागेका थिए । आजै उनले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटको लागि तयारी गरेका छन् । यो बीचमा एमाले नेतृत्वले राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने प्रस्ताव गरेको थियो । तर, नेपालले अन्तिम समयमा आएर ओलीको उक्त प्रस्ताव अस्विकार गरेका थिए ।
उनी कांग्रेस, माओवादी केन्द्रसहित बनेको नयाँ गठबन्धनमा सामेल भएका छन् । आठ दलीय गठबन्धनले नेपाललाई संसद्को पाँच वर्षको कार्यकालभित्र एक वर्ष सरकारको नेतृत्व गर्न दिने सहमति गरेको छ । ओली र गौतमको भेटलगत्तै नेकपा व्युँताउनेबारे पनि छलफल चलेको स्रोतको दाबी छ । नेकपा व्युँताउने सवालमा माधव नेपालपनि सकारात्मक रहेको बुझिएको छ । यसको लागि एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का दोस्रो तहका नेताहरु सक्रिय छन् ।
प्रधानमन्त्रीमा प्रचण्डलाई पाँचै वर्ष दिने र नेकपा व्युँतिए पार्टीको नेतृत्वमा ओली रहनेगरि नेताहरुले समझदारी गर्न खोजेको चर्चा छ । यसको लागि फागुन २५ गते अघिसम्म नेताहरुले प्रयास गर्ने बुझिएको छ । माओवादी केन्द्रमा पनि एमालेसँगको गठबन्धन टुटाउन नहुने जनमत बलियो बन्दै गएको चर्चा छ । यसको लागि वर्षमान पुनलगायत नेताहरु सक्रिय छन् । अहिले नेकपा व्युँताउनको लागि सबैभन्दा बढि सक्रिय वामदेव गौतम बनेका छन् । उनले तीनै दलका शीर्ष नेताहरुसँग छलफल अघि बढाएका छन् । file photo