बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • राजनीति
  • ओलीसँगको भेटमा स्विट्जरल्याण्डका राजदूतले भने- प्रविधि र इन्जिनियरिङमा लगानी गर्न तयार छौं

ओलीसँगको भेटमा स्विट्जरल्याण्डका राजदूतले भने- प्रविधि र इन्जिनियरिङमा लगानी गर्न तयार छौं

  • शनिबार, पुस १६, २०७९
ओलीसँगको भेटमा स्विट्जरल्याण्डका राजदूतले भने- प्रविधि र इन्जिनियरिङमा लगानी गर्न तयार छौं

काठमाडौं : नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेल्लर विकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। बालकोटमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आर्थिक सम्बन्धका साथै राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ।

भेटमा अध्यक्ष ओलीले नेपालको आर्थिक अवस्थालाई माथि उठाउनु वर्तमान सरकारको प्रमुख लक्ष्य हुने बताउँदै यसमा सबैबाट सहयोगको अपेक्षा राखेका थिए। अध्यक्ष ओलीले विधि, मूल्यमान्यता, सुशासन, भ्रष्टाचारहित लोकतन्त्र चाहेको स्पष्ट पारे। उनले देशमा गरिबी उन्मूलन गर्ने, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा ध्यान केन्द्रित रहने बताए। देशको विद्यमान अवस्थामा उल्लेखनीय सुधार ल्याउनका निम्ति आवश्यक कदम चालिने अध्यक्ष ओलीको भनाई छ।

राजदूत विकले स्वीस सरकार तथा अन्य युरोपेली मुलुकहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराए। उनले स्विट्जरल्याण्डले प्रविधि, अन्वेषण र इन्जिनियरिङमा लगानी गरी नेपाललाई सहयोग गर्न तयार रहेको बताए।

राजदूत विकले नेकपा (एमाले) ले प्रदेशको मुद्दालाई महत्व दिएकोमा खुशी व्यक्त गरे। यसबाट स्थानीय नागरिकले विभिन्न विषयमा अवसर पाउनुका साथै साना साना कुराहरू प्रदेशबाट नै समाधान हुने भई उनीहरूको जीवनस्तर सुधारका लागि मद्दत पुग्ने उनको भनाई थियो। भेटमा सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउने बारेमा पनि छलफल भएको थियो। भेटमा नेकपा (एमाले) विदेश मामिला विभाग सचिव डा. अन्जान शाक्य पनि सहभागि थिए।

चर्चामा

सम्बन्धित समाचार